भारतमा झण्डै ९ हजार जनामा म्यूकोर्माइसकोसिसको सङ्क्रमण
भारतमा म्यूकोर्माइकोसिस अर्थात् ‘कालो ढुसी’ को सङ्क्रमण भएका ८ हजार आठ सय जनाभन्दा बढी बिरामी फेला परेका छन् । प्रायः दुर्लभ मानिने यो रोग अहिले प्रकोपका रूपमा फैलिरहेको छ। कोभिड भएर निको हुके क्रममा रहेका मानिसहरू यसबाट पीडित भएको पाइएको छ । यो रोगमा मृत्युदर ५० प्रतिशत भएको बताइन्छ ।
सङ्क्रमितलाई जोगाउन शल्यक्रिया गरेर आँखा फाल्नुपर्ने अवस्था पनि आउने गरेको छ । कोभिड उपचारका क्रममा प्रयोग गरिने स्टेरोइड औषधिको प्रयोगका कारण म्यूकोर्माइकोसिस देखा परेको हुनसक्ने चिकित्सकहरूले बताएका छन् ।
मधुमेह भएका बिरामीमा यो ढुसीबाट सङ्क्रमण हुने ठूलो जोखिम छ । कोभिडबाट निको भएको १२ देखि १८ दिनमा ढुसीबाट सङ्क्रमण हुन सक्ने चिकित्सकहरूले बीबीसीलाई बताएका छन् ।
अहिलेसम्म फेला परेका सङ्क्रमितमध्ये आधाभन्दा बढी पश्चिम भारतका गुजरात र महाराष्ट्र राज्यका छन् । अन्य १५ वटा राज्यमा पनि कालो ढुसीको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितको सङ्ख्या बढ्न थालेकाले भारतका २९ वटा राज्यलाई म्यूकोर्माइकोसिसलाई प्रकोप घोषणा गर्न भनिएको छ । इन्दोर सहरस्थित एउटा अस्पतालमा गत साता कालो ढुसी भएका आठ बिरामी थिए।
तर शनिवार साँझसम्म त्यो सङ्ख्या बढेर १८५ पुगेको छ । उक्त अस्पतालमा कार्यरत डा. भीपी पाण्डेका अनुसार तीमध्ये ८० प्रतिशतभन्दा बढीलाई तत्कालत शल्यक्रिया गर्नुपर्ने देखिएको छ ।
उनका अनुसार यसको उपचार पनि महँगो छ तथा औषधिको अभाव छ । यो एक प्रकारको निकै विरल देखिने सङ्क्रमण हो। यो सामान्यतया माटो, बोटबिरुवा, मल र कुहिएका फलफूल तथा तरकारीमा हुने म्यूकोर भनिने ढुसीसँगको संसर्गबाट सर्छ ।
यसले साइनस, मस्तिष्क र फोक्सोलाई असर गर्छ । मधुमेह वा प्रतिरोध क्षमता क्षीण बएका क्यान्सरका बिरामी वट एचआईभी एड्स भएका मानिसका लागि यो रोग प्राणघातक बन्न सक्छ । चिकित्सकहरूका अनुसार एम्फोटेरिसिन बी अथवा एम्फो–बी भनिने एन्टी–फङ्गल औषधि सुईबाट बिरामीमा प्रत्येक दिन आठ साता दिनुपर्छ ।