अफगानिस्तानको राजधानी काबुलमा एउटा विद्यालयनजिकै विस्फोट हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ । उक्त घटनामा दर्जनौँ घाइते भएका छन् । विद्यालयबाट बालबालिकाहरू निस्किरहेको बेलामा शनिवार ती विस्फोटहरू भएका थिए ।
हताहत हुनेमध्ये अधिकांश छात्रा भएको शिक्षा मन्त्रालयले जनाएको छ । दश्त–ए–बर्चीमा भएको उक्त घटना आफूले गराएको दाबी कसैले पनि गरेको छैन । त्यो क्षेत्रमा प्रायः सुन्नी लडाकुहरूले आक्रमण गरिरहन्छन् ।
तालिबानले आफ्नो संलग्नता अस्वीकार गरेको छ । अफगान अधिकारीहरूका अनुसार विस्फोटका लागि एउटा कार बम र मोर्टारहरू प्रयोग भएका थिए । पश्चिमी काबुलको उक्त क्षेत्रमा अल्पसङ्ख्यक हजारा समुदायको बसोबास छ। हजाराहरू मङ्गोल र मध्यएशियाली मूलका हुन् र प्रायः शिया मुसलमान छन् ।
गतवर्ष एउटा स्थानीय अस्पतालको प्रसूति विभागमा आक्रमण हुँदा बालबालिका, शिशु र महिलासहित कुल २४ जनाको मृत्यु भएको थियो । शनिवारको घातक आक्रमण कसले कुन उद्देश्यले गराएको थियो भन्ने स्पष्ट छैन । काबुलबाट प्राप्त विवरणका अनुसार ईद अल–फित्र पर्व आउन लगेकाले सहरमा किनमेल गर्नेहरूको भिड थियो ।
विद्यार्थीहरू पनि विद्यालयबाट निस्किँदै थिए । शिक्षा मन्त्रालयकी प्रवक्ता नजिबा आरियानले समाचारसंस्था रोएटर्सलाई सरकारद्वारा सञ्चालित उक्त विद्यालयमा छात्रछात्रा दुवैले पढ्न पाउँछन् ।
उनले घाइतेमध्ये धेरै छात्रा भएको बताइन् । संयुक्त राज्य अमेरिकाले अफगानिस्तानबाट सेप्टेम्बर ११ भित्र आफ्नो सेना फिर्ता गर्न लागेको बेला यो घटना भएको हो । अमेरिकी सरकारले उक्त आक्रमणलाई बर्बर सङ्ज्ञा दिँदै त्यसको निन्दा गरेको छ ।
अफगानिस्तानका लागि ईयूको मिशनले ट्विटरमा भनेको छः छात्राहरू पढ्ने विद्यालयका विद्यार्थीहरूलाई निसाना बनाइएकाले यो अफगानिस्तानको भविष्यमाथिको आक्रमण हो ।

प्रतिक्रिया