भारतबाट फर्कने अस्ट्रेलियाली नागरिकलाई पाँच वर्ष जेल सजाय हुन सक्ने


भारतको यात्रालाई हालका लागि गैरकानुनी बनाएको अस्ट्रेलियाली सरकारले त्यहाँबाट फर्कने आफ्ना नागरिकलाई पाँच वर्षसम्म जेलसजाय दिन सकिने बताएको छ ।

भारतमा कोरोनाभाइरस सङ्क्रमित भई क्वारन्टीनमा बसिरहेका अस्ट्रेलियाका नागरिकहरूको सङ्ख्याका आधारमा पछिल्लो निर्णय लिइएको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।

यसै साताको शुरूतिर अस्ट्रेलियाबाट भारतबाट हुने सबै उडानहरूमाथि प्रतिबन्ध लगाएको थियो । भारतमा हाल अनुमानित नौ हजार अस्ट्रेलियाली नागरिक रहेको र तीमध्ये ६०० जनालाई जोखिम समूहमा राखिएको छ । भारतबाट फर्किरहेका अस्ट्रेलियाका नागरिकको सङ्ख्यासँग सरकारको कदम असुहाउँदो भएको एक चिकित्सकले अस्ट्रेलियाको टेलिभिजनलाई भने ।

सोमबारबाट लागु हुने गरी अस्ट्रेलिया पुग्नु १४ दिन अघि भारतमा रहेको भए त्यस्ता मानिसहरूलाई स्वदेश फर्कन प्रतिबन्ध लगाइएको छ । त्यसको उल्लङ्घन गर्नेहरूलाई पाँच वर्षसम्म जेल सजाय वा ६६ हजार अस्ट्रेलियाली डलर जरिवाना अथवा दुवै सजाय हुन सक्छ । सरकारले यी निर्णयहरू हल्का ढङ्गले लिएको होइन, स्वास्थ्यमन्त्री ग्रेग हन्टले वक्तव्यमा भनेका छन् ।

भारतमा कोरोनाभाइरस सङ्क्रमणको उच्च दरलाई ध्यानमा राख्दै कैयौँ मुलुकले उडानमा प्रतिबन्ध लगाइसकेका छन् । भारतमा शुक्रवार ४ लाख आठ हजार ३२३ नयाँ सङ्क्रमित थपिएका छन् ।

एकै दिन यो सङ्ख्यामा हालसम्म विश्वको कुनै पनि देशमा सङ्क्रमित थपिएका छैनन् । भारतमा पछिल्लो केही दिन यता दैनिक ३ लाखभन्दा बढी सङ्क्रमितहरू थपिने गरेका छन् । पछिल्लो एक हप्तामा मात्र १० लाख भन्दा बढी नयाँ सङ्क्रमितहरू थपिएका छन् । भारतमा हालसम्म १ करोड ९१ लाख ६३ हजार ४८८ सङ्क्रमित भएका छन् भने २ लाख ११ हजार ७७८ जनाको मृत्यु भएको तथ्याङ्क छ।