ब्राजिलमा गएको २४ घण्टा यता कोभिड–१९ को सङ्क्रमणबाट तीन हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार कोभिड–१९ को सङ्क्रमणमा परेका तीन हजार ४७२ जनाको एकै दिनमा यसैका कारण ज्यान गएको हो ।
यो सँगै ब्राजिलमा कोभिडको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ८१ हजार ४७७ जना पुगेको पनि मन्त्रालयले दिएको जनाइएको छ । त्यसैगरी सोही अवधीमा थप करिब ८० हजार जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको पनि मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसको सङ्क्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ४१ लाख २२ हजार जनाभन्दा बढीमा सो सङ्क्रमण भएको बताइएको छ । हाल ब्राजिलको स्वास्थ्य प्रणालीले कोभिड–१९ को भयानक तनाव खेप्नु परेको जनाइएको छ ।
यस तनावका कारण यहाँका नागरिकमा जन स्वास्थ्य सम्बन्धी सुविधा पुर्याउन नै समस्या भएको बताइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको नयाँ प्रजातिको भाइरसका साथै नयाँ नयाँ वेभहरु आइरहेका छन् ।
अस्पतालहरूले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाएका छन् । यस देशमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यका रुपमा साओ पाओलो रहेको छ । साओ पाओलोमा मात्र ९० हजार भन्दा पनि बढी नागरिकको ज्यान गएको छ ।
त्यसैगरी सो राज्यमा करिब २८ लाख नागरिक कारोना भाइरसबाट सङ्क्रमित भएका छन् । यहाँका नागरिकले कोरोनाका विरुद्धको खोप पनि लगाएका छन् । तर हाल अत्यधिक रुपमा फैलिएको भाइरसको प्रकोपलाई नियन्त्रण गर्नका लागि खोप मात्र पनि प्रभावकारी नदेखिएको बताइएको छ ।

प्रतिक्रिया