पाकिस्तानका प्रधानमन्त्री इमरान खानले डि ८ समूहका सदस्य राष्ट्रहरुलाई कोभिड–१९ को खोपलाई थप सर्वसुलभ बनाउन आग्रह गरेका छन् । सो समूहको बिहीबार आयोजित भर्चुअल सम्मेलनमा उनले यस्तो आग्रह गरेका हुन् ।
उनले हाल विश्वका कतिपय देशमा भ्याक्सिन राष्ट्रियता स्थापना गर्न खोजिएको जस्तो देखिएको पनि टिप्पणी गरे । प्रधानमन्त्री खानले भर्चुअल सम्मेलनमा विश्वमा अहिले भ्याक्सिनजस्तो अतिआवश्यकताको वस्तुको उपलब्धताको बारेमा अझ बढी कुरा उठाउनुपर्ने अवस्था आएको पनि बताए । यस कार्यका लागि डि८ जस्तो समूह र यसका सबै सदस्य देशहरुले भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।
उनले कोभिडका कारणले विश्वको अर्थतन्त्र गम्भीर अप्ठेरो अवस्थामा पुगेकोले त्यसलाई पुनःप्राप्तिका लागि पनि यस समूहले भूमिका खेल्नुपर्ने बताए । डि८ समूहमा बंगलादेश, पाकिस्तान, टर्की, इजिप्ट, इन्डोनेसिया, इरान, मलेसिया र नाइजेरिया सदस्य रहेका छन् । बिहीबार आयोजना गरिएको १०औँ सम्मेलनको आयोजक राष्ट्र बंगलादेश रहेको थियो ।

प्रतिक्रिया