ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट चार हजार भन्दा बढीको मृत्यु


ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ । संक्रमण सुरु भएयता ब्राजिलमा एकै दिनमा ४ हजार १ सय ९५ जनाको मृत्यु भएको यो पहिलोपटक हो ।

अमेरिकापछि कोरोनाबाट सर्वाधिक धेरै मृत्यु हुने देश ब्राजिल हो । ब्राजिलमा अहिलेसम्म ३ लाख ३७ हजारभन्दा धेरैले संक्रमणका कारण ज्यान गुमाइसकेका छन् । यतिबेला अस्पतालहरु विरामीले भरिभराउ हुँदा ब्राजिलको स्वास्थ्य प्रणाली धरासायी हुने विन्दूमा पुगेको छ ।

मानिसहरु उपचारको प्रतिक्षा गर्दागर्दै मृत्यु हुने अवस्थामा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर राष्ट्रपति जैर बोल्सेनारोले भने महामारी नियन्त्रणका लागि राष्ट्रव्यापी लकडाउन गर्न अस्वीकार गरेका छन् । ब्राजिलमा अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १ करोड ३० लाख नाघिसकेको छ ।