फ्रान्सेली सहर नोँतस्थित एउटा आवासीय भवनमा आगो लागेपछि त्यहाँबाट एउटा परिवारलाई उद्धार गर्ने युवकहरूको एउटा समूहको प्रशंसा भएको छ ।
भिडियो फुटेजमा उनीहरूले तेस्रो तलामा अपार्टमेन्टबाट एक दम्पतीलाई बाहिर निस्किन सहयोग गरिरहेको देख्न सकिन्छ । उक्त भवनको छेउमा डस्नाहरू राखेर ती दम्पतीको ६ महिनाकी छोरीलाई सुरक्षित रूपमा उद्धार गर्नका लागि तेस्रो तलाबाट फ्याँकिएको भिडियोमा देखिन्छ । गम्भीर अवस्थामा रहेकी ती शिशुलाई त्यसपछि अस्पताल पुर्याइएको थियो।
उनको अवस्थामा सुधार भइरहेको बताइएको छ। । उद्धार कार्यमा संलग्न एक जना युवक ताहमिदले एउटा फ्रान्सेली वेबसाइटसँग कुरा गर्दै भवनबाट धूवाँको मुस्लो निस्किन थालेपछि शिशुलाई बार्दलीबाट तल फ्याँक्ने निर्णय एक मात्र उपाय रहेको बताएका छन् । अरू तलमा पनि सल्किएको आगोबाट अग्निनियन्त्रकहरूले कैयौँको उद्धार गरेको थिए ।
युवाहरूको एउटा संस्थाकी नेत्री केन्जा जेकरले ले बीबीसीसँग कुरा गर्दै अन्य स्थानीयवासीहरूले अग्निनियन्त्रकहरूलाई कुरिरहेका बेला आफूहरू उद्धारका लागि अघि सरेको बताइन् । तेस्रो तलामा रहेका दम्पतीलाई तल झार्नका लागि भवनको बाह्य भागबाट चढ्ने युवकहरूमा आफ्ना पति पनि रहेको उनले जानकारी दिइन् ।
उनको संस्थाले उद्धार कार्यमा खटिएका अन्य तीन जनालाई आधिकारिक कागजपत्र र आवासको सुविधा उपलब्ध गराउन आग्रह गरेको छ। ती तीनै युवक आप्रवासी रहेको बताइएको छ । फ्रान्सका राष्ट्रपति माक्रोँलाई सम्बोधन गरिएको एउटा अनलाइन याचिका पनि सुरु गरिएको छ जसमा नायकहरूलाई सम्मान गर्न आग्रह गरिएको छ ।
यो घटनाले सन् २०१८मा पेरिस चौथो तलामा रहेको बरन्डामा झुन्डिइरहेका एक बालकको उद्धार गर्नका लागि भवनमा चढेका एक आप्रवासीको कथालाई सम्झाएको छ । व्यापक प्रशंसा गरिएका मामोउडोउ गास्सामालाई पछि फ्रान्सेली नागरिक बनाइएको थियो । साहसिक कार्यका लागि उनलाई राष्ट्रपतिले पदक पनि दिएका थिए ।

प्रतिक्रिया