संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को एउटा आपत्कालीन बैठकमा म्यान्मारका सैनिक नेतामाथि प्रतिबन्ध लगाउने प्रस्तावलाई चीनले अस्वीकार गरिदिएको छ । सैनिक नेतामाथि प्रतिबन्ध लगाउने कदमले तनाव बढाउने काम मात्र गर्ने राष्ट्रसङ्घका लागि चिनियाँ दूतले दाबी गरे ।
यसअघि म्यान्मारका लागि राष्ट्रसङ्घकी विशेष दूतले आवश्यक कदम चाल्न सुरक्षा परिषद्लाई आग्रह गरेकी थिइन् । कूविरुद्ध जारी प्रदर्शनमाथि सेनाले गरिरहेको दमनबीच उनले म्यान्मारमा रक्तपात तथा सम्भावित गृहयुद्धको खतरा औँल्याएकी थिइन् । अधिकारकर्मीहरूका अनुसार सैन्य कू गरिएको दुई महिनाभित्र पाँच सयभन्दा बढी प्रदर्शनकारी सुरक्षाकर्मीबाट मारिएका छन् ।
गत शनिवार एकै दिन सय जनाभन्दा बढी प्रदर्शनकारी सुरक्षाकर्मीबाट मारिएपछि ब्रिटेनको आग्रहमा सुरक्षा परिषद्को आपत्कालीन बैठक डाकिएको थियो । शनिवारको घटनालाई लिएर विश्वभरिबाट म्यान्मारको सेनाको चर्को आलोचना भएको थियो । वेलायतसहित एक दर्जन देशका रक्षा प्रमुखहरूले एउटा संयुक्त वक्तव्य जारी गर्दै सेनाको हिंसात्मक कदमको निन्दा गरेका थिए ।
वक्तव्यमा भनिएको थियो, ‘व्यावसायिक सेनाले संहितासम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डलाई अनुसरण गर्छ र आफूले सेवा गर्ने जनतालाई क्षति पुर्याउन नभई सुरक्षा दिन जिम्मेवार हुन्छ।’ शनिवार सुरक्षा फौजहरूले म्यान्मारका ४० भन्दा बढी स्थानमा गोली चलाएका थिए । ‘सेनाले केहीको सेवा गर्न थुप्रैको ज्यान लिइरहेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आरोप लगाएका थिए ।
ब्रिटिश विदेशमन्त्री डोमिनिक राबले म्यान्मारको अवस्था न्यून बिन्दु मा पुगेको बताएका थिए । आमनिर्वाचनमा नेत्री आङ्ग सान सूचीको न्याश्नल लीग फर डेमोक्र्यासीले बहुमत ल्याएपछि चुनावमा धाँधली भएको भन्दै सेनाले गत फेब्रुअरीमा सत्ता हातमा लिएको थियो । सन् २०११ मा प्रजातान्त्रिक सुधारअघिसम्म बर्मा भनेर परिचित म्यान्मारमा सेनाले शासन गर्दै आएको थियो ।

प्रतिक्रिया