सूइज नहरमा गत मङ्गलवारदेखि अड्किएको स्थानबाट एउटा विशाल पानीजहाजलाई सारिएको छ । सोमबार सामाजिक सञ्जालमा प्रेषित भिडिओमा ’एभर गिभन’ नामक उक्त जहाजको पृष्ठभागलाई नहरको किनारातिर तानिएको र अवरुद्ध मार्ग खुलाइएको देखिन्छ । पानीजहाज कम्पनी इन्चकेपले पनि उक्त पानीजहाज अड्किएको स्थानबाट हटाइएको जनाएको छ ।
एभरग्रीन कम्पनीको स्वामित्वमा रहेको उक्त पानीजहाजलाई हटाएर जलमार्ग खुलाउन टगबोट र डोजरहरू प्रयोग गरिएको थियो । इजिप्टको स्वामित्वमा रहेको उक्त जलमार्ग १९३ किलोमिटर लामो छ ।
त्यसलाई संसारको एउटा अतिव्यस्त व्यापारिक मार्ग मानिन्छ । एभर गिभन पानीजहाजका कारण उक्त जलमार्ग अवरुद्ध हुँदा सूइज नहरमा संसारकै ’सबैभन्दा महँगो ट्राफिक जाम’ भएको बताइएको थियो । अवरोधका कारण धेरै जहाजहरू अफ्रिकातिरको मार्गमा मोडिएका थिए ।
धेरै दिनदेखि उक्त अवरोध हटाउन नसकिएकाले भार कम गर्ने प्रयासस्वरूप आइतवार एभर गिभनबाट २० हजार वटा कन्टेनर निकालिएको बताइन्छ । विशेषज्ञहरूले यसअघि उक्त पानीजहाजलाई अड्किएको स्थानबाट सार्न विशेष उपकरण चाहिने र त्यसका लागि केही साता लाग्न सक्ने बताएका थिए ।
अचानक आएको हावाका कारण छड्के परेको ४०० मिटर लामो र ५९ मिटर चौडा उक्त जहाजले जलमार्ग बन्द गरिदिएको थियो । पानामामा दर्ता एभरग्रीन शिपिङ कम्पनीको उक्त जहाजका कारण दर्जनौँ अरू पानीजहाजहरू अड्किएका थिए ।
एशिया र युरोपबीच सबैभन्दा छोटो जलमार्ग हुने यो नहरको बाटोबाट विश्वको १२ प्रतिशत व्यापार हुने गरेको बताइन्छ । सूइज नहरबाट सन् २०२० मा मात्रै १९ हजार पानीजहाज ओहोरदोहोर गरेका थिए ।

प्रतिक्रिया