भारतका १८ वटा राज्यबाट सङ्कलित नमुनाको परीक्षण गर्दा डबल म्युटेन्ट अर्थात् उही भाइरसमा एकसाथ दुइटा उत्परिवर्तन हुने कोरोनाभाइरसको नयाँ प्रकार फेला पारिएको अधिकारीहरूले बताएका छन् ।
दश हजार ७८७ नमुना परीक्षण गरिएकोमा ७३६ जनामा वेलायत भेरिअन्ट, ३४ जनामा दक्षिण अफ्रिकी र एक जनामा ब्रजिली भेरिअन्ट देखिएको हो । भारतमा पछिल्ला दिनमा कोरोनाभाइरस सङ्क्रमण तीव्र गतिमा फैलिरहेको तथ्याङ्क आइरहँदा कोरोनाभाइरसका नयाँ प्रकार देखिएको हो ।
तर सरकारले नयाँ प्रकार र पछिल्लो सङ्क्रमण दरबीच सम्बन्ध नदेखिएको जनाएको छ । बुधवार मात्रै भारतमा ४७ हजार २६२ जना सङ्क्रमित थपिएका छन् भने २७५ जनाको कोभिडका कारण मृत्यु भएको छ ।
पछिल्लो वृद्धि सन् २०२१ को अहिलेसम्मकै सबैभन्दा उच्च हो । भाइरसहरू उत्परिवर्तित हुनु सामान्य हुन्छ र अधिकांश उत्परिवर्तन चिन्ताको विषय हुँदैन तथा त्यसले सङ्क्रमण फैलाउने दरमा परिवर्तन ल्याउने अथवा गम्भीर सङ्क्रमण निम्त्याउने हुँदैन ।
तर वेलायत र दक्षिण अफ्रिकी भेरिअन्ट अझ बढी सङ्क्रामक हुन सक्ने र कतिपय अवस्थामा घातक हुन सक्ने पनि देखिएको छ । भाइरोलोजिस्ट डा. शाहीद जमीलका अनुसार डबल म्युटेन्टमा उही भाइरसमा एकसाथ दुइटा उत्परिवर्तन हुने गर्छ । त्यो भाइरसले रोगप्रतिरोधी क्षमतालाई छल्न सक्ने तथा झन् सङ्क्रामक हुन सक्ने डा. जमीलले बताए ।
भारतमा हालसम्म एक करोड १७ लाख व्यक्ति कोरोनाभाइरस सङ्क्रमित भएका छन् भने एक लाख ६० हजार व्यक्तिको ज्यान गइसकेको तथ्याङ्क छ । पछिल्लो समय सङ्क्रमण बढ्न थालेपछि नियन्त्रण तथा रोकथाम गर्ने प्रयासमा थुप्रै राज्यले पुनः प्रतिबन्धात्मक कदमहरू चाल्न थालेका छन्। त्यसमा कर्फ्यूदेखि लकडाउनसम्मका कदम रहेका छन् ।

प्रतिक्रिया