ह्यारीले अमेरिकी मानसिक स्वास्थ्यसम्बन्धी संस्थामा काम गर्ने


ब्रिटिस राजकुमार ह्यारी बेटरअप नामक अमेरिकी मानसिक स्वास्थ्य संस्थामा प्रमुख प्रभाव अधिकृत बन्ने भएका छन् । एक विज्ञप्तिमा राजकुमार ह्यारीले नयाँ भूमिकाका सम्बन्धमा एकदमै उत्साहित रहेको बताएका छन् ।

उनको जिम्मेवारी, काम गर्ने समय र तलबका बारेमा बताइएको छैन । गत मार्चमा शाही जिम्मेवारीबाट पन्छिएपछि उनले कमाउन काम गर्न थालेका हुन् । राजकुमार ह्यारीले नयाँ जिम्मेवारीमा उनको लक्ष्य मानसिक स्वास्थ्यका बारेमा महत्त्वपूर्ण बहसलाई प्रोत्साहन दिने, सहज समुदाय निर्माण गर्ने र खुला कुराकानीका लागि वातावरण तयार गर्ने हुने बताएका छन् ।

बेटरअपका प्रमुख कार्यकारी अधिकृत एलेक्सी राबिचौका अनुसार राजकुमार ह्यारीले अन्य कर्मचारीको व्यवस्थापन नगर्ने तर अवस्था सामान्य भएपछि सान फ्रान्सिस्कोस्थित कार्यालयमा केही समय बिताउने बताएका छन् । सन् २०१३ मा स्थापित बेटरअपले मोबाइलमार्फत व्यावसायिक सहयोग प्रदान गर्छ। यसका ६६ देशमा ४९ भाषा बोल्ने २,००० परामर्शदाता रहेको बताइएको छ।