यमनमा भएको झण्डै छ वर्षको युद्ध अन्त्यका लागि साउदी अरेबियाले एउटा नयाँ शान्ति योजना प्रस्ताव गरेको छ । उसले आफू समर्थक यमनको सरकार र इरानको समर्थन रहेको हुथीविद्रोहीबीच संयुक्त राष्ट्रसंघले सुपरीवेक्षण गर्ने गरी युद्धविराम गर्न प्रस्ताव गरेको छ । यो प्रस्तावमा राजनीतिक वार्ता सुरु गर्न र महत्वपूर्ण हवाई तथा जलमार्ग पुनः खोल्ने विषय पनि समेटिएको छ ।
यमन सरकार र संयुक्त राष्ट्रसंघले यो योजनाको स्वागत गरेका छन् । यो प्रस्तावको घोषणा साउदी राजधानी रियादमा विदेशमन्त्री फैसल बिन फरहानले गरेका हुन्। उनले यमनको ठूलो भूभागलाई नियन्त्रणमा लिएको हुथीहरूलाई यो प्रस्ताव स्वीकार गर्न आह्वान पनि गरे ।
उनले हुथीहरूले स्वीकार गर्ने बितिक्कै युद्धविराम कार्यान्वयनमा जाने पनि बताए । तर हुथी विद्रोहीहरूले भने यसमा ’केही नयाँ नभएको’ भनेका छन्। हवाई र जलमार्गमा लगाइएको नाकाबन्दी पहिला हटाउनुपर्नेमा उसको जोड रहेको छ ।
हुथीका प्रमुख वार्ताकार मोहम्मद अब्दुसलामले रोयटर्स समाचार संस्थासँग आफूहरूले साउदी, अमेरिका र मध्यस्थकर्ता ओमानसँग शान्ति सम्झौताका लागि निरन्तर कुरा गर्ने बताए । साउदी अधिकारीहरूले आफ्नो कदमबारे संयुक्त राष्ट्रसंघ र अमेरिकासँग समन्वय गरिरहेको बताएका छन् । विश्वकै खराब मानवीय सङ्कट निम्त्याएको युद्ध अन्त्य गर्ने प्रयासमा संयुक्त राष्ट्रसङ्घ र अमेरिका पनि जुटेका छन् ।
देशव्यापी युद्धविराम गर्ने अमेरिकी योजना हुथीहरूले केही दिनअघिमात्रै अस्वीकार गरेका थिए । यसअघि गत फेब्रुअरीमा अमेरिकी राष्ट्रपति जो बाइडनले यमनमा भइरहेका आक्रामक कारबाहीमा अमेरिकाले गर्दै आएको समर्थन अन्त्य गर्ने बताएका थिए ।
छ वर्षभन्दा लामो समयदेखि जारी युद्धमा यमनमा एक लाख १० हजारभन्दा बढी मानिसहरूले ज्यान गुमाएको ठानिन्छ । संयुक्त राष्ट्रसङ्घले यमनमा ८० प्रतिशत जनसङ्ख्या सहायता र संरक्षणको खाँचोमा रहेको भन्दै त्यहाँ विश्वकै खराब मानवीय सङ्कट रहेको जनाएको छ।

प्रतिक्रिया