अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले अफगानिस्तानको अघोषित भ्रमण गरेका छन् । अफगानिस्तानमा बाँकी रहेका आफ्ना सबै फौज फिर्ता गर्ने योजनाको केही साता पहिला उनले यो भ्रमण गरेका हुन् । राष्ट्रपति अशरफ घानीसँग काबुलमा भेटेपछि, उनले जिम्मेवार रुपमा युद्धको अन्त्य गर्न आह्वान गरे । तर समयावधिभित्रै फौज फिर्ता हुन्छन् कि हुन्नन् भन्नेबारे चाहिँ केही भनेनन् ।
अस्टिनले द्वन्द्वको अन्त्यका लागि वार्ता गर्न हिंसाहरूमा कमी ल्याउनुपर्नेमा केन्द्रित हुनुपर्ने बताए । आफ्ना फौज फिर्ता गर्नेबारे गत वर्ष ट्रम्प प्रशासनका बेला अमेरिकाको तालिबानसँग सहमति भएको थियो ।
तर प्रश्नहरू के छन् भने अफगान सरकारसँग वार्ताका लागि विद्रोहीहरूले आफ्नो प्रतिवद्धता पूरा गरे कि गरेनन् । अमेरिकी नयाँ राष्ट्रपति जो बाइडनले मे १ तारिखको समयावधिभित्रै काम गर्न कठिन हुने बताएका छन् ।
अफगानिस्तानको भ्रमण गर्ने बाइडनको मन्त्रिपरिषद्का अस्टिन पहिलो सदस्य हुन्। एसियाको संक्षिप्त भ्रमणको अन्त्यतिर आइतवार उनी काबुल गएका हुन् । पत्रकारहरूसँग कुरा गर्दै अस्टिनले हालैको सम्झौता अनुसार तालिबानले उनीहरूको दायित्व पूरा गरे कि गरेनन् भन्नेबारे उनले केही बोलेनन् ।
अन्तिम सम्झौतामा नपुग्दै यदि विदेशी सेनाहरू फिर्ता भए भने तालिबान शक्तिमा फर्किन सक्ने आशङ्काहरू गरिएका छन् । अमेरिकाले अफगानिस्तानमा आफ्ना अझै २ हजार पाँच सय सैनिक रहेको बताएको छ । ट्रम्प प्रशासनले अफगानिस्तानबाट आफ्नो फौज फिर्ता बोलाउने विषयलाई प्राथमिकतामा राखेको थियो ।
सन् २०२० को फेब्रुअरीमा हस्ताक्षर भएको सम्झौतामा यदि तालिबानले आफ्ना बाचाहरू पूरा गरे १४ महिनाभित्र अमेरिका र उसका उत्तर एट्लान्टिक सन्धि सङ्गठनका साझेदारहरूले फौज फिर्ता गर्ने उल्लेख थियो । ऐतिहासिक सम्झौतापछि तालिबानले अन्तर्राष्ट्रिय फौजहरूमाथिको हमला रोके पनि अफगान सरकारसँग लड्न भने छोडेको छैन ।
अफगान सरकारसँग वार्ता थाल्ने सर्त स्वरूप तालिबानले आफ्ना हजारौं मानिसहरूलाई रिहा गर्नुपर्ने माग गरेको थियो । त्यसपछि सन् २०२० को सेप्टेम्बरमा दोहामा वार्ता सुरु भयो तर त्यो निचोडमा भने अझै पुगिसकेको छैन।

प्रतिक्रिया