इटलीमा कोरोना संक्रमण बढ्सँगै फेरि लकडाउन


इटलीभर पसल, रेस्टुराँ र विद्यालयहरू बन्द रहने घोषणा गर्दै प्रधानमन्त्री मारियो ड्रागिले कोरोनाभाइरस सङ्क्रमणको नयाँ लहर आउन सक्ने भन्दै सचेत गराएका छन् । इस्टरका बेला अर्थात् आगामी ३–५ अप्रिलमा पूर्ण रूपमा मुलुक बन्द गरिने घोषणा गरिएको छ ।

एक वर्ष अघि राष्ट्रिय लकडाउन गरेको इटलीले फैलिँदो सङ्क्रमण रोक्न फेरि सङ्घर्ष गरिरहेको छ । इटली वेलायतपछिको युरोपमा सबभन्दा धेरै मृत्युदर भएको मुलुक हो । युरोपियन युनियनका अन्य मुलुकमा जस्तै इटलीमा खोप अभियानमा ढिलाइ भइरहेको छ । खोप अभाव पूर्ति गर्न भन्दै गत हप्ता रोमस्थित सरकारले २ लाख ५० हजार अक्सफर्ड–आस्ट्राजेनेका खोप अस्ट्रेलिया निर्यात गर्नमा रोक लगाएको थियो ।

बुल्गेरिया, डेनमार्क र नर्वेले भने अक्सफर्ड–आस्ट्राजेनेका खोपले रगत जमाउने त्रास उत्पन्न भएपछि उक्त खोप प्रयोग रोकेका छन् । शुक्रवार विश्व स्वास्थ्य सङ्गठनले रगत जम्ने कुरा सत्य भएको कुनै सङ्केत नमिलेको भन्दै खोप प्रयोग रोक्न नहुने बताएको थियो ।

सोमबारदेशि विद्यालय, पसल र रेस्टुराँहरू इटलीको आधा भन्दा बढी क्षेत्रमा बन्द रहनेछन्। सबैभन्दा बढी जनघनत्व भएका रोम र मिलानमा पनि लकडाउन गरिएको छ । मानिसहरूलाई काम, स्वास्थ्य र अतिआवश्यक काममा बाहेक घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ ।

प्रधानमन्त्रीको कार्यालयले नयाँ प्रतिबन्ध इस्टरसम्म कायम रहने बताएका छन्। इस्टर सप्ताहान्तमा सम्पूर्ण मुलुकलाई उच्च सतर्कतायुक्त ’रेड जोन’ बनाइनेछ । इटलीमा गत ६ हप्तादेखि प्रति दिन २५ हजारभन्दा बढी सङ्क्रमण पुष्टि भइरहेको छ । गत वर्ष कोरोनाभाइरस सङ्क्रमणको प्रकोप सुरु भए यता इटलीमा ३२ लाख सङ्क्रमण पुष्टि भइसकेको छ ।