अमेरिकी कङ्ग्रेसको तल्लो सदनले पनि राष्ट्रपति बाइडनले अघि सारेको १९ खर्ब डलर बराबरको कोभिड राहत प्याकेज पारित गरेको छ । हालसम्म अमेरिकाले कोभिड महामारीबाट पुनरुत्थानमा ५० खर्ब डलर खर्च गरिसकेको बताइन्छ ।
राष्ट्रपति जो बाइडनको १९ खर्ब डलरको प्याकेजले कोभिडको प्रभाव झेलिरहेका अमेरिकीहरूलाई राहत दिने बताइएको छ । बुधवार तल्लो सदन प्रतिनिधिसभाले यसलाई पार्टीगत बहुमतबाट पारित गरेको हो । यसअघि माथिल्लो सदनले पनि बहुमतबाट यसलाई पारित गरेको थियो । अब यसलाई राष्ट्रपतिले हस्ताक्षर गरेपछि लागू हुन्छ ।
ह्वाइट हाउसकी प्रवक्ता जेन साकीका अनुसार राष्ट्रपति बाइडनले शुक्रवार यसमा हस्ताक्षर गर्नेछन् । प्रतिनिधिसभामा मतदान हुँदा एकजना बाहेक सबै डेमोक्रेट सांसदले यसको समर्थन गरेका थिए । प्याकेजलाई रिपब्लिकन दलका सांसदहरूले भने अस्वीकार गरेका थिए । प्याकेजमा अधिकांश अमेरिकीहरूले पाउने गरि एकमुष्ट प्रतिव्यक्ति १४ सय डलरको सहयोग सामेल छ ।
यसले बेरोजगारहरूलाई दिने गरिएको साप्ताहिक ३ सय डलरको सुविधा सेप्टेम्बरसम्म जारी राख्नेछ । साथै यो प्याकेजले राज्य तथा स्थानीय सरकारहरूलाई ३५० अर्ब डलर उपलब्ध गराउनेछ, विद्यालयहरू खुलाउन १३० अर्ब डलर गराउनेछ, कोभिड–१९ को परीक्षण र अनुसन्धानमा ४९ अर्ब डलर उपलब्ध गराउनेछ तथा खोप वितरणमा १४ अर्ब डलर छुट्ट्याउनेछ ।
राष्ट्रिय न्यूनतम ज्यालादर प्रति घण्टा ७.२५ डलरबाट १५ डलर पुर्याउने प्रस्ताव भने सिनेटमा विवादग्रस्त बनेपछि अन्तिम प्याकेजमा पारिएन । यो प्याकेजप्रति आमअमेरिकीहरूको समर्थन रहेको देखिएको छ । मार्चमा प्यू रिसर्च सेन्टरले गरेको मत सर्वेक्षणमा ७० प्रतिशत वयस्क अमेरिकीहरूले यसको समर्थन गरे जसमा ४१ प्रतिशत रिपब्लिकन पनि थिए ।
राष्ट्रपति बाइडनले यो प्याकेजले देशको मेरुदण्ड– आवश्यक सेवाका कर्मचारी, देश निर्माण गर्ने श्रमिक अनि यो देश चलाउने आम मानिस– हरूलाई महामारीको प्रभावसँग जुझ्न सघाउ पुग्ने बताएका छन् । यसबीच उनले अमेरिकीहरूलाई दिलाइसकेपछि उब्रने कोभिड–१९ का खोपहरू विश्वसँग बाँड्ने पनि बताएका छन्।

प्रतिक्रिया