एक महिनामै गुम्यो इलोनको विश्वकै सर्वाधिक धनीको उपाधि


विद्युतीय कार निर्माता टेस्लाका मालिक इलोन मस्कले विश्वकै सर्वाधिक धनी व्यक्तिको उपाधि गुमाएका छन् । उनको मुख्य आम्दानीको स्रोत विद्युतीय कार निर्माता कम्पनीको शेयरमा गिरावट आएपछि उनले उक्त उपाधि गुमाएका हुन् ।

उनी जनवरीमा अमेजनका संस्थापक जेफ बेजोसलाई उछिन्दै विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका थिए । जनवरीको सुरुवातको तुलनामा टेस्लाको शेयरमा २० प्रतिशतले गिरावट आएको छ। यो साता उनीहरूले तीव्र गिरावटको सामना गर्नुपरेको छ ।

त्यसको सम्बन्ध उक्त कम्पनीले बिट्क्वाइनमा गरेको जोखिमपूर्ण लगानीसँग रहेको ठानिएको छ । मस्कको सम्पत्तिमा आएको गिरावटपछि अमाजनका मालिक जेफ बेजोस पुनः विश्वका सर्वाधिक धनी बनेका छन् ।

टेस्लाको शेयर बढेका बेला मस्कको कुल सम्पत्ति १८५ अर्ब डलरभन्दा बढी भएको थियो । हालैका दिनहरूमा बिट्क्वाइनको मूल्य लगातार घटिरहेको छ । मस्क र टेस्लाले बिट्क्वाइनमा लगानी बढाएको खबरसँगै कतिपय लगानीकर्तालाई त्यसमा गरेको लगानी निकाल्न प्रेरित गरेको विश्लेषकहरूको भनाइ छ ।

टेस्लाले १ अर्ब ५० करोड डलर बराबरको बिट्क्वाइन किनेको र त्यसलाई भुक्तानीका रूपमा स्वीकार्ने योजना बनाएको बताएको थियो । त्यसपछि बिट्क्वाइनको मूल्यमा यो साता ५० प्रतिशतले कमी आएको छ ।

मस्कले बिट्क्वाइनको मूल्य बढाउन जसरी भूमिका खेलका थिए उस्तैगरी त्यसको मूल्यमा आएको गिरावटमा पनि आफूलाई दोषी ठान्न सक्छन् । त्यस्तै अमेरिकी अर्थमन्त्री जानेट यालेनको एउटा चेतावनीयुक्त अभिव्यक्ति पनि बिट्क्वाइनको मूल्य घटबढ गर्न भूमिका खेलेको बताइन्छ।