चीनद्वारा गलवानमा आफ्ना चार सैनिक मारिएका स्वीकार


चीनले आठ महिनापछि यसै साता शुक्रवार गत जुनमा गलवान उपत्यकामा भारतीय सैनिकसँगको भिडन्तमा आफ्ना पनि सैनिक मारिएका स्वीकार गरेको छ । चीनको जनमुक्ति सेनाले उसका चार सैनिक मारिएका पुष्टि गरेको छ । भिडन्त २० जना भारतीय सैनिक मारिएको भारतले त्यतिखेरै जनाएको थियो । तर चीनले भने मुख खोलेको थिएन ।

तर शुक्रवार अचानक चीनले जुनमा भारत र चीनका सैनिकहरूबीच भएको हिंसक झडपको भिडियो फुटेज पनि सार्वजनिक गरेको छ । आठ महिनादेखि यो विषयमा चुप रहेको चीनले यो साता जब दुवै देशका सैनिक विवादित इलाकाहरूबाट पछाडि हट्न थालेका छन् तब आएर मुख किन खोलेको होला भन्ने प्रश्न धेरैको मनमा उब्जिएको छ ।

शुक्रवारको नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेशमन्त्रालयकी प्रवक्ता ह्वा चुनयीङ्ले यसबारे प्रस्ट पार्ने प्रयास गरिन् । उनले भारतीय पक्षले बारम्बार यो विषयलाई सनसनीपूर्ढ बनाउने प्रयास गरेको अनि तथ्य बङ्ग्याएर अन्तर्राष्ट्रिय जनमतलाई गलत दिशा दिन खोजेको आरोप पनि लगाएकी छन् ।

गलवानको घटना दुई छिमेकीबीच ४५ वर्षपश्चात् भएको पहिलो घातक सङ्घर्ष थियो । शुक्रवार चिनियाँ सेनाको समाचार निकाय पीएलए डेलीले गलवानमा मारिएका ’बहादुर’ सैनिकहरू जसले आफ्नो ’यौवन, रगत, र जीवन’ बलिदान दिए भन्दै नाम खुलाएको छ ।

भारत र चीनबीच दशकौँदेखि सीमा विवाद छ। जसको मुख्य कारण वास्तविक नियन्त्रण रेखा भनिने अस्पष्ट रूपमा व्याख्या गरिएको झन्डै ३५ सय किलोमिटर लामो विवादित सिमाना रहेको छ ।

दुई देशबीच झडप हुँदा बन्दुक वा विस्फोटक पदार्थ प्रयोग नगर्ने पुरानो सहमति छ । यो वर्षको जनवरीमा पनि दुई देशका सेनाबीच भारतको उत्तर पूर्वस्थित सिक्कीम राज्यस्थित सिमानामा झडप भएको थियो जसमा दुवै देशका सैनिक घाइते भएका थिए । तर त्यसयता दुवै सेनाले सिमानाका निश्चित् स्थानहरूबाट पछाडि हट्ने सहमति गरेका छन् ।