किमकी पत्नी री सोल–जु एक वर्षपछि सार्वजनिक कार्यक्रममा


उत्तर कोरियाका नेता किम जङ उनकी पत्नी एक वर्षभन्दा लामो समयपछि पहिलो पटक सार्वजनिक रूपमा देखापरेकी स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

री सोल–जु मङ्गलवार आफ्ना पतिसँग आफ्ना ससुरा किम जङ–इलको जन्मजयन्तीको अवसरमा आयोजित साङ्गीतिक कार्यक्रममा सहभागी भएकी थिइन् ।

प्रायः किमसँगै सार्वजनिक कार्यक्रमहरूमा देखिने री गत सन् २०२० को जनवरीदेखि कतै देखा परेकी थिइनन् । उनी देखिन छोडेपछि उनी बिरामी भएको वा गर्भवती भएको आँकलन गरिएको थियो ।

दक्षिण कोरियाको गुप्तचर संस्थाले सोमवार मात्रै सांसदहरूलाई कोभिड-१९ को डरले सार्वजनिक कार्यक्रममा देखा नपरेको अनुमान गर्दै उनले सन्तानसँग समय बिताइरहेको हुनसक्ने बताएको थियो ।

उत्तर कोरियाले औपचारिक रूपमा कोरोनाभाइरस सङ्क्रमण भएको बताएको छैन । रोडोङ सिन्मनका अनुसार नेता किम पत्नीसँगै साङ्गीतिक कार्यक्रम स्थलमा पुग्दा ठूलो स्वागत भएको थियो । तस्बिरहरूमा उनीहरू हाँसेको देखिनुका साथै मास्क र सामाजिक दूरी देखिएको छैन ।

सरकारी सञ्चारमाध्यममा एक पटक फेरि उनलाई राष्ट्रपति लेखिएको छ र पहिले प्रयोग गर्ने गरिएका आधिकारिक पद सभापति प्रयोग गरिएको छैन । गत साता उत्तर कोरियाली समाचारसंस्थाले पहिलो पटक उनलाई राष्ट्रपति लेखेको थियो।