न्युजिल्याण्डमा पहिलो पटक भित्रियो कोभिडविरुद्धको खोप


न्युजिल्याण्डमा कोरोनाभाइरस विरुद्धको खोप पहिलो पटक सोमबार भित्राइएको छ । कोरोनाभाइरसको महामारी नियन्त्रणमा निकै राम्रो भूमिका खेल्नु भएकि प्रधानमन्त्री जसिन्डा अर्डेनले सोमबार मात्रै खोप ल्याइएको पुष्टि गरेका हुन् । स्थानीय समय अनुसार सोमबार विहान ९.३४ मा ६० हजार मात्राखोप स्वदेश ल्याइएको उनले जानकारी दिइन् ।

खोप ल्याइएपछिको पत्रकार सम्मेलनमा उनले भनिन्,“फाइजर/बायोएनटेक खोप न्युजिल्याण्डमा ल्याइएको छ, अव यो लगाउन सुरु गरिनेछ, यसलाई ठूलो अभियानको रुपमा अगाडी बढाउने तयारी भएको छ ।” आफ्नो देशमा पनि केही परीक्षण गरेपछि मात्रै खोप लगाउने अभियान सुरु गरिने पनि प्रधानमन्त्री अर्डेनले जानकारी दिइन् ।

उनका अनुसार आगामी शनिबारदेखि सुरुमा केही सीमित व्यक्तिहरुलाई मात्रै खोप लगाउन थालिनेछ । कोरोनाभाइरस विरुद्ध अग्रपङ्क्तिमा रहेर काम गरेका स्वास्थ्यकर्मीसँगै आइसोलेसन र क्वारेन्टाइनमा कार्यरत कर्मचारीहरूलाई सुरुको चरणमा खोप लगाउने योजना सरकारले बनाएको उनले बताइन् ।

आगामी दुई देखि तीन हप्तामा झण्डै ३० हजार जनालाई खोप दिने तयारी रहेको उनको भनाइ छ । एक जनालाई दुई वटा खोप लगाउनु पर्ने भएकाले ६० हजार खोप ३० हजार जनालाई लगाउन सकिने भएको हो । उनकाअनुसार आगामी मार्च अन्त्यसम्ममा दुई लाख २५ हजार खोप ल्याउने तयारी भएको छ ।