ड्यूक र डचिस ज अफ ससिक्स दम्पतीले दोस्रो सन्तानको अपेक्षा गरिरहेको उनीहरूका प्रवक्ताले जनाएका छन् । ह्यारी र मेगनले छोरा आर्चीका भाइ वा बहिनीको स्वागत गर्ने तयारी गरिरहेका छन्। गत मे महिनामा आर्ची एक वर्ष पुगेका थिए ।
बकिङ्घम दरबारका प्रवक्ताले महारानी, ड्यूक अफ एडिन्बरा तथा प्रिन्स अफ वेल्स तथा राजपरिवारका सबै जना हर्षित भएको र उनीहरूलाई शुभेच्छा व्यक्त गरेको जनाएका छन् । ह्यारी र मेगनले एउटा श्यामश्वेत तस्बिर सार्वजनिक गरेका छन् जसमा एउटा रूखमुनि ह्यारीले आफ्नो हात मेगनको टाउकोमा राखेको र मेगनले आफ्नो हात पेटमा राखेको देखिन्छ ।
उनीहरूका बच्चा राजगद्दीको उत्तराधिकारमा आठौँ स्थानमा रहनेछन् । मेगनले दोस्रो बच्चालाई कहिले जन्म दिनेछिन् भन्ने कुरा खुलाइएको छैन । गत जुलाईमा आफ्नो गर्भ तुहिएको जानकारी मेगनले नोभेम्बरमा प्रकाशित एउटा लेखमार्फत् दिएकी थिइन् । ह्यारी र मेगन पहिलो पटक भेट भएको १६ महिनापछि विवाह बन्धनमा बाँधिएका थिए।
सन् २०१८को मे महिनामा विवाह बन्धनमा बाँधिएका उनीहरूले सन् २०१९को मे ६ तारिखमा पहिलो सन्तानलाई जन्म दिएका थिए । सन् २०२०को मार्च महिनामा ह्यारी र मेगनले आफूले राजपरिवारको ’वरिष्ठ सदस्य’ को भूमिका परित्याग गर्ने र आफ्नो समय यूके तथा उत्तर अमेरिकामा बिताउने घोषणा गरेका थिए । लगत्तै बकिङ्घम दरबारले राजकुमार ह्यारी र मेगनले शाही उपाधि प्रयोग नगर्ने र उनीहरूले नागरिकको करबाट आउने रकम समेत नपाउने घोषणा गरेको थियो । हाल उनीहरू क्यालिफोर्नियामा बस्छन्।

प्रतिक्रिया