रोभरले मङ्गल ग्रहका ज्वालामुखी यस्ता तस्बिर पठायो


मङ्गल ग्रहका ज्वालामुखी र घाटीहरूका क्यामेराले ज्वालामुखी लगायतका तस्बिर खिचेर पठाएको छ । यो महिना रातो ग्रह नयाँ वर्षमा प्रवेश गरेको छ । पृथ्वी र मङ्गल ग्रहको घुम्ने गतिमा रहेको फरकपनका कारण यी दुई ग्रहबीचको दूरी निरन्तर परिवर्तन भइरहन्छ । त्यसैले मङ्गल ग्रह सम्बन्धी कुनै लक्ष्य शुरू गर्न हरेक २६ महिनामा एकपटक मात्र सम्भव हुन्छ ।

त्यसबेला यी दुई ग्रहहरू एकअर्काको नजिक आइपुगेका हुन्छन् । कैयौँले नासाको पर्सिभेरेन्स रोभर– जुन अहिलेसम्म मङ्गल ग्रहमा पठाइएको सबभन्दा जटिल प्रविधियुक्त यान हो– १८ फेब्रुअरीमा त्यहाँ अवतरण गर्ला भन्ने आशा गरिरहेका छन् । सन् २०१६ मा पठाइएको एउटा उपकरण ’कलर एन्ड स्टेरियो सर्फेस इमेजिङ सिस्टम (क्यासिस)’को सहायतामा यो ग्रहको सतहबारे वैज्ञानिकहरूले विभिन्न जानकारी पाइरहेका छन् ।

यो क्यामेरा युरोपेली अन्तरिक्ष निकाय इसाको एक्जोमार्स ट्रेस ग्यास अर्बिटरसँग यात्रा गरिरहेको छ । यसले मङ्गलको वायुमण्डलमा रहेको मिथेन र अरू दुर्लभ ग्यासहरूको अध्ययन गरिरहेको छ । यो क्यामेराको प्राविधिक लक्ष्य भविष्यका अन्तरिक्ष यानहरूका लागि अवतरण गर्न मिल्ने स्थान खोज्नु हो । इसाको एउटा त्यस्तै यान सन् २०२२ मा पठाउने लक्ष्य राखिएको छ ।

तर यो क्यामराले त्यहाँ पाइने विभिन्न खनिज, घाटी, ज्वालामुखी र अन्य भूगर्भीय तथ्यहरूको पनि अवलोकन गरिरहेको छ । बर्न विश्वविद्यालय स्विट्जरल्यान्डका प्राध्यापक निकोलस थोमसले यो आयोजनाको नेतृत्व गरिरहेका छन् । यो क्यामेराले अहिलेसम्म मङ्गलको २० हजार तस्बिर खिचिसकेको छ । त्यहाँ हामीले पहिल्यै थाहा पाइसकेका कुराहरू पनि छन् ।

तर यो क्यामेराले थुप्रै नयाँ जानकारीहरू पनि पठाइरहेको छ । गएका केही हप्तामा यो क्यामेराले हरेक हप्ता ३०० वटासम्म तस्बिरहरू खिचेको छ । यो उपकरणको रङ सम्बन्धी क्षमता बलियो छ । यसले पठाएका तस्बिरहरू नासाका तस्बिरसँग भिडाएर हेर्ने पनि गरिएको छ । प्राध्यापक थोमसका अनुसार अहिले वैज्ञानिक क्षेत्रमा नासा र इसाको सहकार्य भइरहेको छ ।

क्यासिसले सिसिफि थोलस नजिकै एउटा क्षेत्रको फोटो पठाएको छ जहाँ तुसारो जमेको देख्न पाइन्छ । धेरै उचाइमा जमेको कार्बन डाइअक्साइ र तुसारोको फोटो क्यासिसले पठाएको छ । मङ्गल ग्रहको अध्ययन गरिरहेको यो समूहले आफ्ना तथ्याङ्कमा आधारित केही लक्ष्य निर्धारण गर्छ । त्यसपछि यो क्यामेरा उक्त सतहमा ३ किलोमिटर प्रति सेकेन्डका दरले उड्छ ।

त्यसैले द्रुत गतिमा तस्बिरहरू खिच्नुपर्छ । क्यामेराको रङ प्रविधि र मान्छेको आँखाले देख्ने रङ प्रणालीभन्दा फरक छ । तर विभिन्न खनिजले सूर्यको किरण फरक किसिमले परावर्तन गर्ने हुनाले वैज्ञानिकहरूले त्यसबाट नयाँ सूचना सङ्कलन गर्न सक्छन् ।

यो समूहले नजिकबाट हेरेकोमध्ये एक जेजेरो ज्वालामुखी पनि हो । यसैमा नासाको पर्सिभेरेन्स रोभर आगामी हप्ता अवतरण गर्ने योजना छ र त्यसले यो ग्रहमा जिवाशेषको प्रमाण खोजी गर्नेछ । प्राध्यापक थोमसका अनुसार यो समूहलाई जेजेरो जस्ता ठाउँको तस्बिर खिच्ने मौका वर्षमा चारदेखि छ पटकसम्म प्राप्त हुन्छ । योजना गरिएअनुसार क्यासिसले पर्सिभरेन्स अवतरण गरेको पाँचदिनपछि उसको प्याराशुट लगायत अवतरणका बेलाका फ्याँकिएका वस्तुको तस्बिर खिच्ने अपेक्षा राखिएको छ । यो आयोजना कम्तीमा सन् २०२५ सम्म काम गरिरहने प्राध्यापक थोमसले बताए।