भारतमा पटाका उद्योगमा आगलागी हुँदा १९ जनाको मृत्यु


भारतको एउटा पटाका उद्योगमा भएको आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । घटनाका कारण अरु केही घाइते समेत भएका सरकारी अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।

तमिलनाडु प्रदेशको भृदुनगर जिल्लामा शुक्रबार घटना भएको हो । यो घटना यस वर्षकै यस प्रदेशकै सवैभन्दा ठूलो घटना भएको अधिकारीहरुले जनाएका छन् । स्थानीयअधिकारी आर कन्नानले मृतकको सङ्ख्या अझै बढी हुन सक्ने बताएका छन् । उनका अनुसार केही घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने देखिएको हो ।

कन्नानले दिएको जानकारीअनुसार आगलागी भएका बेला उद्योगमा झण्डै ७४ जना मानिस रहेका थिए । स्थानीय सञ्चार माध्यमहरुले आगलागी भएको उद्योग अवैध तरिकाले सञ्चालन भईरहेको बताएको छ । प्रहरीले अहिले उद्योगका बारेमा र आगलागीको घटनाका बारेमा अनुसन्धान गरिरहेको छ ।

घटनाका बारेमा थाहा पाएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै राहत दिने घोषणा गरेका छन् । उनले मृतकका परिवारलाई दुई लाख रुपैयाँका दरले दिने घोषणा गरेका छन् ।