भारत र चीनले विवादित हिमाली सीमा क्षेत्रको केही भागबाट आआफ्ना सेनालाई फिर्ता ल्याउने सहमतिलाई गत जुनमा भएको हिंसात्मक झडपपछि दुई देशबीचको सम्बन्ध सुधारमा भएको प्रगतिका रूपमा लिइएको छ ।
भारतको रक्षामन्त्रीले लद्दाखको सीमा क्षेत्रबाट सैनिक फिर्ता ल्याउने कदम ती दुई परमाणुअस्त्रसम्पन्न देशहरूबीच भएको निरन्तरको वार्ताको परिणाम भएको बताएका छन् । चीनले पनि त्यस्तै बेहोराको घोषणा गरेको एक दिनपछि उनको त्यस्तो टिप्पणी आएको छ । गत जुन महिनामा दुई देशका सैनिकहरूबीच भएको हिंसात्मक भिडन्तमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो ।
चिनियाँ सेनातर्फ पनि केही हताहत भएको भन्ने विवरणहरू आएका थिए । त्यसयता दुई देशबीचको सम्बन्ध तनावपूर्ण रहँदै आएको थियो । भारतका रक्षामन्त्री राजनाथ सिंहले संसदमा बोल्दै गत सेप्टेम्बर महिनायता दुवै पक्षले सैनिक र कूटनीतिक माध्यमहरूबाट कुराकानी थालेका थिए । वरिष्ठ सैनिक कमान्डरहरूबीच नौ चरणको वार्तापछि पान्गोङ्ग त्सो तालको उत्तर र दक्षिण किनारबाट पछाडि हट्ने सहमतिमा पुग्न सफल भएको उनले बताएका छन् ।
चीनको राष्ट्रिय प्रतिरक्षामामिला मन्त्रालयका प्रवक्ताले बुधवार पान्गोङ त्सो तालबाट संयोजित र व्यवस्थित रूपमा पछाडि हट्ने कार्य आरम्भ भएको बताएका थिए । कर्णेल वु चिआनका अनुसार सैनिक कमान्डर तहमा भएको वार्तामा दुवै पक्षले सहमति गरे अनुसार त्यस्तो सैन्य फिर्तीको कदम चालिएको हो । भारत र चीनका सैनिकहरू दुवै देशले आफ्नो भनेर दाबी गरिरहेका उक्त हिमतालको उत्तरी र दक्षिणी किनारमा आमनेसामनेको अवस्थामा रहेका थिए।

प्रतिक्रिया