चीन सरकारद्वारा बीबीसी वर्ल्ड न्यूज प्रसारणमा प्रतिबन्ध


चिनियाँ सरकारले आफ्नो देशभित्र बीबीसी वर्ल्ड न्यूज प्रसारणमा प्रतिबन्ध लगाएको छ । कोरोनाभाइरस महामारी र आदिवासी उइगर अल्पसङ्ख्यविरुद्ध गरिएको दमनबारे बीबीसीले गरेका रिपोर्टिङ्गको चीनले आलोचना गरेको छ ।

बीबीसीले चिनियाँ सरकारको निर्णयबाट निराश भएको प्रतिक्रिया दिएको छ । सञ्चारमाध्यमसम्बन्धी ब्रिटिश नियामक निकाय अफकमले वेलायतमा चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) को प्रसारण अनुमति खारेज गरेपछि चीनले पछिल्लो कदम चालेको हो । सीजीटीएनको प्रसारण अनुमतिपत्र गलत रूपमा स्टार चाइना मिडिया लिमिटेडसँग रहेको पाइएपछि अफकमले त्यस्तो निर्णय लिएको थियो ।

गत वर्ष ब्रिटिश नागरिक पिटर हम्फ्रेलाई बलपूर्वक दिन लगाइएको भनिएको बयान प्रसारण गरेर प्रसारणसम्बन्धी ब्रिटेनका नियमहरू सीजीटीएनले उल्लङ्घन गरेको पाइएको थियो । आफ्नो निर्णयमा चिनियाँ नियामक निकायले बीबीसी वर्ल्ड न्यूजले समाचार सत्य र निष्पक्ष हुनुपर्ने तथा चिनियाँ राष्ट्रिय स्वार्थमा हानि पुर्याउन नहुने सहितका प्रसारणसम्बन्धी निर्देशिकाहरूको गम्भीर रूपमा उल्लङ्घन गरेको जनाएको छ ।

अर्को वर्ष प्रसारणका लागि बीबीसीले मागेको अनुमति स्वीकार नहुने उसले जनाएको छ । वेलायतका विदेशमन्त्री डोमिनिक राबले बेइजिङ्गको कदमलाई सञ्चारमाध्यमको स्वतन्त्रतामाथि अस्वीकार्य प्रतिबन्ध भनेका छन् । चीनले विदेशमा गलत सूचनाको प्रवद्र्धन गरिरहेको अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताले आरोप लगाएका छन् ।