टोकियो ओलम्पिक प्रमुख मोरी राजीनामा दिने मनस्थितिमा


टोकियो ओलम्पिकका प्रमुख योशिरो मोरीले महिला अधिकारीबारे गरेको टिप्पणीका कारण जापान र विदेशमा आक्रोश व्यक्त गरिन थालेपछि राजीनामा गर्ने मनस्थितिमा पुगेका जापानी सञ्चारमाध्यमले जनाएका छन् ।

उनले ‘महिलाहरू बैठकमा बढी बोल्छन्’ भनी गरेको अभिव्यक्तिलाई लैङ्गिक रूपमा विभेधकारी रहेको भनी राजनीतिक वृत्तमा आलोचनापछि यो निर्णय आउन लागेको अधिकारीहरूले बताएका जापानी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

महिलाबारेको उनको उक्त टिप्पणी आयोजकहरूको लागि पछिल्लो समय टाउको दुखाइ बनेको थियो । महामारीको बावजुद जापानले यसै गृष्म ऋतुमा ओलम्पिक खेल आयोजना गर्ने योजनाबीच ओलम्पिक समितिले उहाँको अभिव्यक्तिलाई लिएर सार्वजनिक असन्तुष्टिको सामना गरिरहेको छ ।

८३ वर्षीय मोरीले शुक्रबार खेल आयोजकहरूको एक बैठकमा आफ्नो राजीनामा घोषणा गर्ने स्रोत नखुलाउने शर्तमा अधिकारीहरूले बताएका जापानी सञ्चारमाध्यमहरूले लेखेका छन् ।

उनको सबैभन्दा बढी सम्भावित उत्तराधिकारीका रूपमा ८४ वर्षीय सबुरो कावाबुचीलाई अघि सारिने पनि समाचारहरूमा उल्लेख छ । जापानका पूर्वप्रधानमन्त्रीसमेत रहेका मोरीले जापानी ओलम्पिक समितिका सदस्यहरूलाई आफूले गत हप्ता गरेको टिप्पणीका कारण यो निर्णय लिन दवाव परेको बताइएको छ ।