अमेरिकी सिनेटले पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगबारे सुनुवाइ गर्नु संवैधानिक रहेको भन्दै मतदान गरेको छ । सिनेटमा भएको मतदानमा पक्षमा ५६ मत खसेको थियो भने विपक्षमा ४४ जनाले मत दिएका थिए ।
यसको अर्थ निवर्तमान राष्ट्रपति ट्रम्पविरुद्ध दोस्रो महाभियोगबारे सुनुवाइले निरन्तरता पाउनेछ । सुनुवाइ प्रक्रियालाई निरन्तरता दिनका निम्ति सामान्य बहुमत चाहिएको थियो । गत महिना हाउस अफ रेप्रेजेन्टेटिभ्सले दोस्रो पटक ट्रम्पमाथि महाभियोग लगाएको थियो ।
हिंसात्मक दङ्गा शुरू हुनुअगाडि आफ्ना समर्थकहरूलाई उक्साएको उनीमाथि आरोप छ । ट्रम्पले महाभियोगसम्बन्धी सुनुवाइमा बयान दिन नजाने बताउँदै आएका छन्। उनका समर्थकहरूले क्यापिटल भवनमाथि आक्रमण गर्दा एक प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको थियो भने संसद् भवनभित्र रहेका सांसदहरू लुक्नुपरेको थियो ।
अमेरिकी इतिहासमा दुई पटक महाभियोग लगाइएका ट्रम्प पहिलो राष्ट्रपति हुन् । त्यसैगरी अमेरिकामा महाभियोग लगाइएका कुल तीनमध्ये एक राष्ट्रपति पनि उनी हुन् । ट्रम्पका वकिलहरूले संसद् भवनमाथि आक्रमणका लागि उनले नउक्साएको दाबी गरेका छन् ।
उनीहरूमध्ये एक डेविड सोनले त्यसको आलोचना गर्दै महाभियोग प्रक्रियालाई राजनीतिक अस्त्र बनाइएको दाबी गरे। बुधवारबाट सुनुवाइले फेरि निरन्तरता पाउनेछ ।
ट्रम्पका वकिलहरूले उनीविरुद्ध सुनुवाइ गर्न खोज्नु असंवैधानिक भएको पनि दाबी गर्दै आएका छन् । उनी अहिले पदमा नरहेको र आमनागरिक भइसकेको वकिलहरूको तर्क छ । एक महिना लामो अनुसन्धानपछि संसद् भवनमाथि आक्रमण गरेको आरोपमा २२१ जनाविरुद्ध अभियोग दायर गरिएको जनाइएको छ।

प्रतिक्रिया