दक्षिण अफ्रिकामा अक्सफोर्ड/आस्ट्राजेनेकाको खोप लगाउन रोकियो


दक्षिण अफ्रिकाले कोरोनाभाइरसविरुद्ध अक्सफोर्ड/आस्ट्राजेनेकाको खोप लगाउने कार्यक्रम रोकेको छ । एउटा अध्ययनले कोरोनाभाइरसको नयाँ प्रकारविरुद्ध सो खोपको नतिजा निराशाजनक देखाएपछि त्यसको प्रयोगलाई दक्षिण अफ्रिकाको सरकारले रोकेको हो । वैज्ञानिकहरूका अनुसार दक्षिण अफ्रिकाका नयाँ सङ्क्रमितमध्ये ९० प्रतिशत नयाँ प्रकार वा भेरीअन्टबाट प्रभावित रहेको पाइएको छ ।

अक्सफोर्ड/आस्ट्राजेनेकाको खोपले उक्त प्रकारको कोभिड १९ का हल्का तथा मध्यम खालका बिरामीलाई नगन्य सुरक्षा दिएको करिब दुई हजार मानिस सामेल अध्ययनले देखाएको हो । दक्षिण अफ्रिकाले अक्सफोर्ड/आस्ट्राजेनेकाको खोपको १० लाख मात्रा प्राप्त गरिसकेको छ र आगामी सातादेखि उसले खोप लगाउन शुरू गर्ने कार्यक्रम थियो ।

अनलाइनमार्फत् एउटा कार्यक्रमलाई सम्बोधन गर्दै दक्षिण अफ्रिकाका स्वास्थ्यमन्त्री ज्वेलीम कीजेले नयाँ अध्ययनको पृष्ठभूमिमा अक्सफोर्ड/आस्ट्राजेनेकाको खोप लगाउने कार्यक्रमलाई कसरी अगाडि बढाउन सकिन्छ भन्नेबारे सरकारले अझ प्रतीक्षा गर्ने बताए । उक्त अध्ययनले भने अझ गम्भीर सङ्क्रमणलाई अक्सफोर्ड/आस्ट्राजेनेकाको खोपले रोक्ने कुरा कति प्रभावकारी छ भन्ने विषय नहेरेको उनले बताए । अध्ययनमा सहभागीहरूको औसत उमेर ३१ वर्ष रहेको छ । अक्सफोर्डकी अग्रणी खोप विकासकर्ता प्राध्यापक सराह गिल्बर्टले अक्सफोर्ड/आस्ट्राजेनेकाको खोपले गम्भीर बिमारीको हकमा चाहिँ सुरक्षा दिनेमा जोड दिएकी छन् ।

खोप विकासकर्ताहरूले दक्षिण अफ्रिका भेरीअन्टविरुद्ध विद्यमान खोपमा परिमार्जन गर्न सक्ने बताइन् । मोडेर्नाले बनाएको खोप दक्षिण अफ्रिका भेरीअन्टविरुद्ध अझै प्रभावकारी देखिएको प्रारम्भिक नतिजाहरूले देखाएका छन् । आस्ट्राजेनेकाले चाहिँ पहिलो पटक वेलायतमा देखिएको यूके भेरीअन्टविरुद्ध आफ्नो खोपेले राम्रो सुरक्षा दिएको जनाएको छ । फाइजर÷बायोएन्टेकको खोपले पनि नयाँ भेरीअन्टविरुद्ध सुरक्षा दिएको प्रारम्भिक नतिजाहरूले देखाएका छन्।