अफगानिस्तानको भ्रमणमा रहेका युरोपेली सङ्घका एक वरिष्ठ कूटनीतिज्ञले त्यहाँ हिंसा बढिरहेकाले गृहयुद्धको वास्तविक खतरा रहेको बताएका छन् । युरोपेली सङ्घका सङ्कट व्यवस्थापनका आयुक्तले अफगान शान्तिप्रक्रिया विफल हुने सम्भावना धेरै रहेको बताएका हुन् ।
गत वर्ष सेप्टेम्बर महिनामा शान्ति प्रक्रियाको थालनी भए पनि त्यसयता त्यो प्रक्रिया डगमगाएको छ । उनले सरकार र तालिबानका प्रतिनिधिबीच वार्ता गराउन सबै प्रयास गरिनुपर्ने बताएका हुन् ।
उनले अफगानिस्तानमा मानवीय सङ्कटको मुख्य कारण नै जारी द्वन्द्व रहेको र अहिले करिब आधा जनसङ्ख्या भोकमरीको अवस्थामा पुग्न लागेको बताए । अमेरिकी संसद्ले तयार गरेको एउटा प्रतिवेदनले जो बाइडन प्रशासनलाई अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने योजनालाई पछाडि सार्न आह्वान गरेको छ ।
शान्तिप्रक्रियाबारे तालिबान गम्भीर नभएको हुनसक्ने आशङ्का व्यक्त गर्दै उनीहरूबाट कू गर्ने प्रयास हुनसक्ने सम्भावना व्यक्त गरिएको छ। अमेरिकाले पहिला गरेको सम्झौताअनुसार आउँदो मे १ तारिखमा अफगानिस्तानबाट २,५०० सैनिक फिर्ता हुने योजना छ।

प्रतिक्रिया