युरोपेली सङ्घले युरोपमा बनेको कोरोनाभाइरस खोप निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । ईयू राष्ट्रहरूसँग गरेको सम्झौता अनुरूप काम नभएमा अन्य मुलुकमा निर्यात गर्न प्रतिबन्ध लगाउन सक्ने अधिकार युरोपेली सङ्घसँग रहेको छ । सङ्घले भनेको छ, ‘हाम्रा नागरिकको सुरक्षा र संरक्षण हाम्रो प्राथमिकता हो । अहिलेको चुनौतीले हामीलाई अरू विकल्प दिएन।’
यो प्रतिबन्धले वेलायत, अमेरिका, क्यानडा र अस्ट्रेलियासहित १०० मुलुकहरू प्रभावित हुनेछन् । तर गरिब मुलुकहरूसहित केही भने प्रतिबन्धमा परेका छैनन् ।
ईयूले अहिलेको नियन्त्रण अस्थायी रहेको भन्दै स्थायी निर्यात प्रतिबन्ध नलगाएको बताएको छ । तर विश्व स्वास्थ्य सङ्गठनसहित अन्यले ईयूको यो कदमको आलोचना गर्दै त्यसको असर संसारभर पर्ने बताएका छन् । वितरणको विषयलाई लिएर ईयू खोप उत्पादक एस्ट्राजेनेकासँग सार्वजनिक रूपमै विवादमा होमिएको अनि खोप वितरणको सुस्त गतिका कारण सङ्घ माथि बढ्दो दबावबीच यस्तो समाचार आएको हो ।
शुक्रवार युरोपेली आयोगले एस्ट्राजेनेकाले आफूहरुसँगको सम्झौतामा आधारित रहेर खोप वितरण गर्न नसकेको भन्ने भनाइलाई बल पुर्याउन उक्त कम्पनीसँगको गोप्य सम्झौता नै सार्वजनिक गरिदिएको थियो ।
नयाँ नियम अनुसार खोप उत्पादकहरूले ईयू भन्दा बाहिर खोप वितरण गर्नका लागि ऊसँग अनुमति लिनुपर्नेछ । २७ सदस्य राष्ट्र भएको सङ्घले त्यस्ता आवेदनको परीक्षण गर्न पाउने छ । फाइजरले बेल्जियममा उत्पादन गरिरहेको खोप वेलायतमा निर्यात भइरहेको छ । सम्झौता अनुरूप मार्च महिनासम्ममा उपलब्ध गराउनुपर्ने खोप आपूर्ति गर्न नसकेको भन्दै ईयू फाइजरसँग पनि विवादमा छ ।
फाइजरले भने बेल्जियमस्थित आफ्नो उत्पादन केन्द्रमा भइरहेको विस्तारको कार्यका कारण त्यस्तो भएको जनाएको छ । ईयूले ९२ थरीलाई निर्यात प्रतिबन्ध लगाएको छैन ।
तीमध्ये कोभ्याक्सका लागि खोप दान, गरिब मुलुकका लागि विश्वव्यापी खोप सहयोग योजना, स्वीट्जरल्यान्ड, पश्चिमी बाल्कन मुलुकहरू, नर्वे र उत्तर अफ्रिका रहेका छन् । त्यसैगरी अन्य भूमध्यसागरीय मुलुकहरू लेबनन र इजरेल पनि प्रतिबन्धमा परेका छैनन्।
निर्यात प्रतिबन्धबारे ईयूकी स्वास्थ्य आयुक्त स्टेला किरियाकिअसले प्रेस सम्मेलनमा ईयूका सबै नागरिकको खोपमा पहुँच निश्चित गर्ने बताइन्। उनले त्यसका लागि सबैले आ आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताइन् ।

प्रतिक्रिया