अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लीकन पार्टीका नेता मिच म्याक्कोनेलले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल आगामी फेब्रुअरीको मध्यसम्म स्थगन गर्न आग्रह गरेका छन् ।
महाभियोगको प्रतिरक्षाका लागि आवश्यक गृहकार्य गर्न ट्रम्पका वकीलहरुलाई समय दिन म्याक्कोनेलले उक्त आग्रह गरेका हुन् । रिपब्लीकन पार्टीका सिनेटरसँगको कन्फरेन्स कलमा छलफल गर्दै म्याक्कोनेलले अघिल्लो पटकको महाभियोगकै हाराहारीमा ट्रम्पलाई समय चाहिने बताएका थिए । कन्फरेन्स कलमा सहभागी सिनेट सदस्य माइक ब्राउनले ट्रम्प विरुद्धको महाभियोग सुनुवाईका लागि आगामी फेब्रुअरीको १० वा ११ मा गर्न सकिने सुझाव दिएका थिए ।
म्याक्कोनेलले फेब्रुअरीको मध्यसम्म महाभियोगमाथिको सुनुवाई ढिलाई गर्नेबारेमा डेमोक्रेट पार्टीबाट कुनै जानकारी प्राप्त नभएको बताए । यसै महिनाको शुरुमा म्याक्कोनेलले रिपब्लीकन सिनेट सदस्यहरुलाई सिनेटमा महाभियोग सम्बन्धी नियम बमोजिम तल्लो सदनमा महाभियोग सम्बन्धी व्यवस्थापकले सिनेटलाई जानकारी गराएपछि लगत्तै सिनेटमा छलफल हुने प्रचलन रहेको बताए ।
संसदकी सभामुख नान्सी पेलोसीले बिहीबार पत्रकार सम्मेलन गर्दै सिनेटमा सहमति जुट्नासाथ महाभियोगमाथिको सुनुवाई प्रारम्भ हुने र त्यसका लागि तल्लो सदन तयार रहेको जानकारी दिइन् ।
डेमोक्रेट पार्टीको बहुमत रहेको तल्लो सदनले गत जनवरी १३ मा ट्रम्प विरुद्ध महाभियोग लगाउने सम्बन्धी एक प्रस्तावलाई २३२–१९७ मतान्तरले पारित गरिसकेको छ । ट्रम्प विरुद्ध अमेरिकी इतिहासमै एकै कार्यकालमा दुई पटक महाभियोग लगाइएको थियो ।
गत जनवरी ६ मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको प्राँगणमा आफ्ना समर्थकलाई उत्तेजक भाषण दिएलगत्तै ट्रम्पका उग्र समर्थकले संसद भवनमा आक्रमण गरेका थिए । उक्त घटनामा एक प्रहरी अधिकृत सहित पाँच जनाको मृत्यु भएको थियो । अमेरिकी राजनीतिक इतिहासमा कालो दिनका रुपमा लिइएको उक्त घटनालाई डेमोक्रेट र कतिपय रिपब्लीकन सांसदले ट्रम्पको “सत्ता विद्रोह” का रुपमा लिइएको थियो ।

प्रतिक्रिया