पद सम्हाल्ने बित्तिकै बाइडनले उल्ट्याए ट्रम्पका नीति


कार्यकालको पहिलो दिन अमेरिकी राष्ट्रपति जो बाइडनले कैयन् कार्यकारी आदेश जारी गर्दै आफ्नो प्रशासनको प्राथमिकता प्रस्ट पार्ने कोसिस गरेका छन् । कार्यभार सम्हालेको केही घण्टाभित्रै उनले जारी गरेका कार्यकारी आदेशमध्ये कतिपयले ट्रम्प प्रशासनको नीति उल्ट्याइदिएको छ ।

‘हामीले सामना गरिरहेको सङ्कटसँग जुझ्ने क्रममा खेर फाल्ने समय हामीसँग छैन,’ सपथ ग्रहणपश्चात् ह्वाइट हाउस प्रवेश गर्नु अगाडि राष्ट्रपति जो बाइडनले ट्वीट गरेका थिए ।

उनले कोरोनाभाइरस महामारीको सङ्कट सम्बोधनमा सङ्घीय कारबाही तेज गर्ने कार्यकारी आदेशहरू जारी गरेका छन् । उनले जारी गरेका अन्य आदेशहरूले चाहिँ विगतमा ट्रम्प प्रशासनले जलवायु परिवर्तन, आप्रवासन तथा जातिय सम्बन्धबारे अख्तियार गरेका नीति उल्ट्याइदिनेछ ।

कार्यकारी आदेश जारी गरिएको वक्तव्यमा भनिएको छ ती आदेशहरूमार्फत् राष्ट्रपति बाइडनले ’ट्रम्प प्रशासनले पुर्याएको क्षति उल्ट्याउने मात्र नभइ देशलाई अघि बढाउने छन्।’ चार लाख अमेरिकीहरूको ज्यान लिइसकेको कोरोनाभाइरस महामारीसँग जुझ्ने विभिन्न उपायहरू ती आदेशमा रहेका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट फिर्ता हुने अमेरिकी कार्यको अन्त्य गरिने, भाइरस विज्ञ डा एन्थोनी फाउचीले यसै साता हुने डब्लुएचओको अन्तर्राष्ट्रिय कार्यकारी समितिको बैठकमा अमेरिकाको प्रतिनिधित्व गर्दै भाग लिने, कोभिडको राष्ट्रिय सम्बोधन गर्ने कार्य केन्द्रीकृत गर्दै सुरक्षा सामग्री, खोप तथा परीक्षण सामग्रीको वितरणमा समन्वय बढाउने आदेशमा उल्लेख छ ।

त्यस्तै, सबै सङ्घीय परिसरमा मास्क तथा दूरीको नियम पालना गरिने, आगामी १०० दिनसम्म मास्क लगाइरहन मानिसहरूलाई आग्रह गर्नेगरि १०० दिने मास्क चुनौती अभियान थालनी गरिने उल्लेख छ ।

वातावरणसम्बन्धी कतिपय ट्रम्प प्रशासनका नीतिहरू बाइडनले उल्ट्याउन चाहेका छन् । सन् २०१५ मा हस्ताक्षर गरिएको पेरिस जलवायु सम्झौतामा अमेरिका पुनः सामेल हुने, विवादास्पद किस्टोन एक्सएल पाइपलाइन निर्माण रद्द गर्ने छन् ।

वातावरणवादी तथा अमेरिकी आदिवासीहरूले उक्त परियोजनाको दशकौँदेखि विरोध गर्दै आएका थिए । त्यस्तै, ट्रम्पले लागु गरेको तथाकथित मुस्लिम प्रतिबन्ध अन्तर्गत केही मुस्लिम बहुल देशबाट यात्रामा लगाइएको प्रतिबन्ध फुकुवा, मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माणकार्य बन्द गर्ने बताइएको छ ।

डोनल्ड ट्रम्पले उनको कार्यकारी आदेश जारी गर्नसक्ने शक्तिलाई आफ्नो राजनीतिक एजेन्डा अघि बढाउन प्रयोग गरेका थिए । त्यसैले बाइडनले कहिले र कसरी ती काम उल्ट्याउँछन् भन्ने कुरा महत्वपूर्ण हुन्छ ।