इन्डोनेशियामा शनिबार बेपत्ता भएको विमानको खोजी जारी


इन्डोनेशियाका अधिकारीहरूले शनिवार जकार्ताबाट उडेको केही छिनमै समुद्रमा हराएको यात्रुवाहक विमानको दुर्घटनाग्रस्त भएको क्षेत्र पत्ता लागेको बताएका छन् । श्रीविजया एयरजेटको उक्त बोइङ ७३७ विमानमा चालकदलका सदस्यसहित कुल ६२ जना सवार थिए । उक्त विमान देशको पश्चिम कालिमान्तान प्रान्तस्थित पोन्टिआनक जानका लागि उडेको चार मिनेटमै रेडारको सम्पर्कबाट बेपत्ता भएको थियो ।

विमान खोज्नका लागि जलसेनाका पौडीबाजसहित १० वटाभन्दा बढी पानीजहाज परिचालन भएका छन् । विमानको भग्नावशेष ठानिएका सामग्रीहरूको अनुसन्धानकर्ताहरूले विश्लेषण गरिरहेका छन् । शनिवार राति खोजी र उद्धारका प्रयासलाई रोकिएको भए पनि आइतवार बिहानैबाट निरन्तरता दिइएको छ ।

श्रीविजया एयरको उक्त विमान जकार्ता विमानस्थलबाट शनिवार दिउँसो स्थानीय समयानुसार १४ः३६ बजे उडेको थियो । यातायात मन्त्रालयका अनुसार त्यसको चार मिनेटपछि १४ः४० मा अन्तिम सम्पर्क भएको थियो । जकार्ताबाट पश्चिमी बोर्नियो टापुस्थित पोन्टिआनक पुग्न सामान्यतया विमानमा ९० मिनेट लाग्छ ।

राष्ट्रिय खोजी तथा उद्धार निकाय एअर मार्शल बागुस पुरुहितोका प्रमुखका अनुसार विमानले कुनै आपत् परेको सङ्केत पठाएको थिएन । प्रत्यक्षदर्शीहरूले उनीहरूले कम्तीमा एउटा विस्फोटन सुनेको र देखेको बताएका छन् । सोलिहिन नाम गरेका माझीले बीबीसी इन्डोनेशिया सेवालाई आफूले दुर्घटना देखेको र आफ्नो जहाजका कप्तानले समुद्रबाट जमिनमा फर्किने निर्णय गरेको बताएका छन् ।

‘विमान समुद्रमा चट्याङ परे जसरी खस्यो र पानीमा विस्फोट भयो,’ उनले भने, ‘त्यो घटना हामी नजिकै भएको थियो।’ विमान हराएको क्षेत्रनजिकै टापुमा बस्ने केही स्थानीय बासिन्दाले आफूहरूले केही सामग्री फेला पारेको र त्यो विमानको भएको ठानेको बताएका छन् ।

विमानमा सात बालबालिका र तीन शिशुसहित ५० जना यात्रु र चालक दलका १२ सदस्य रहेको बताइएको छ । विमानको क्षमता भने १३० यात्रुको थियो । अधिकारीहरूका अनुसार विमानमा सवार सबै इन्डोनेशियाली नागरिक नै थिए ।

जकार्तास्थित अन्तर्राष्ट्रिय विमानस्थल र पोन्टिआनकस्थित विमानस्थलमा उनीहरूका आफन्तहरू व्यग्र भएर कुरिरहेका छन्। उक्त बोइङ ७३७÷५०० विमान २६ वर्ष अघि बनेको हो । ठूलो वर्षाका कारण विमान उड्न ३० मिनेट ढिलो भएको थियो । सन् २००३ मा स्थापना भएको श्रीविजया एयर इन्डोनेशियाले दक्षिणपूर्व एशियाका गन्तव्यहरूमा उडान गर्छ ।