पाकिस्तानमा शनिवार मध्यरातदेखि पूरै देशभरि विद्युत् आपूर्ति बन्द भएर अन्धकार भएपछि केही स्थानमा बिजुली आउन थालेको छ । राजधानी इस्लामाबादसहित मुख्य सहरहरू लाहोर र कराचीमा पनि स्थानीय समयानुसार मध्यरातपछि एक्कासि बिजुली गएको थियो ।
देशका ऊर्जामन्त्रीले बत्ती जानुको कारणबारे अनुसन्धान भइरहेको बताएका छन् । आइतवार बिहानै ट्वीट गर्दै ऊर्जामन्त्री ओमार अयुब खानले विद्युत् प्रसारण प्रणालीमा एक्कासि आएको समस्याको कारण देशैभरि बिजुली गएको जानकारी दिएका छन् ।
केही बेरपछि खानले पेशावर सहरसहित केही क्षेत्रमा बिजुली पुनः आएको बताए । मध्यरातदेखि बिजुली जाँदा देशैभर अन्धकार भएको थियो । पाकिस्तानमा बिजुली जानु असामान्य कुरा होइन तर अहिलेको जस्तो देशैभरि र लामो समयसम्म विद्युत् आपूर्ति बन्द भएको थिएन ।
अस्पताल, ठूला व्यापर गृह र धनाढ्य परिवारमा बिजुली आपूर्तिका लागि डिजेलबाट चल्ने जेनरेटर प्रयोग गरिन्छ । चरम अभावका कारण पाकिस्तानमा बिजुली आपूर्ति नियमित रूपमा हुँदैन । केही क्षेत्रमा त प्रत्येक दिन थुप्रै घण्टा बिजुली हुँदैन ।
बिजुली जाने समस्याका कारण यसअघि सडकमा प्रदर्शनहरू पनि भएका थिए । सन् २०१३ मा दक्षिणपश्चिम बलोचिस्तान प्रान्तमा रहेको विद्युत् केन्द्रमा प्राविधिक समस्या आउँदा पाकिस्तानको विद्युत सञ्जाल बिग्रिएको थियो।

प्रतिक्रिया