विवादास्पद विमान ७३७ म्याक्सको डिजाइनबारेको जानकारी सुरक्षा अधिकारीलाई नबताएको सम्बन्धी आपराधिक मुद्दा टुङ्गो लगाउन विमान निर्माता बोइङ दुई अर्ब ५० करोड अमेरिकी डलर तिर्न सहमत भएको छ ।
अमेरिकी न्याय मन्त्रालयले सो कम्पनीले नाफालाई ध्यान दिँदा विमानमा कमजोरी रहेको र त्यसका कारण दुई घातक दुर्घटना हुन गएको बताएको छ । त्यो रकममध्ये ५० करोड डलर जति ती दुर्घटनामा मारिएका ३४६ जनाको परिवारले पाउने बताइएको छ ।
बोइङले सो सहमतिले कम्पनीले गर्नुपर्ने नगरेको देखाएको बताएको छ । बोइङका प्रमुख कार्यकारी डेभिड काल्हुनले भने, ‘मलाई लाग्छ यो सहमतिमा पुग्नु सही कुरा हो। हामी आफ्नो मान्यता र कम्पनीप्रतिको अपेक्षामा चुकेको भनेर स्वीकार गर्ने एउटा कदम हो।’
न्याय मन्त्रालयले बोइङका अधिकारीहरूले विमानको स्वचालित उडान नियन्त्रण प्रणालीमा गरेको परिवर्तनका बारेमा जानकारी लुकाएको बताएको छ । सो प्रणालीको कमजोरीका कारण सन् २०१८ मा इन्डोनेशिया र सन् २०१९ मा इथियोपियामा ती विमानहरू दुर्घटनामा परेका थिए ।
सो सूचना लुकाइएका कारण विमान चालकहरूको पुस्तिकामा कहिलेकाहीँ गलत तथ्याङ्कका कारण गलत काम गर्ने प्रणालीका बारेमा जानकारी नभएको बताइएको छ । न्याय मन्त्रालयले बोइङले छ महिनासम्म अनुसन्धानमा सहयोग नगरेको बताएको छ । इथियोपियामा भएको दुर्घटनामा मारिएकाहरूको परिवारका वकिलहरूले भने यो सहमतिले आफ्नो देवानी मुद्दालाई असर नगर्ने बताएका छन्।

प्रतिक्रिया