कोभिड १९ विरुद्ध लड्नका लागि युरोपेली सङ्घ (इयू)ले खोप दिन सुरु गरेको छ । युरोपेली आयोगकी प्रमुख उर्जुला भोन डेर लेयनले फाइजररबायोएनटेकले विकास गरेको खोप सङ्घका २७ वटै सदस्य राष्ट्रमा वितरण गरिएको बताएकी छन् ।
एक दिन पनि कुर्न नसक्ने भन्दै कतिपय राष्ट्रहरूले शनिवारबाटै खोप लगाउने काम सुरु गरेका थिए । युरोपेली सङ्घमा हालसम्म ३ लाख ३५ हजार भन्दा बढीको कोभिड १९ का कारण मृत्यु भइसकेको छ । १ करोड ४० लाख भन्दा धेरै मानिस सङ्क्रमित भइसकेका छन् ।
लगभग सबैजसो सदस्य राष्ट्रमा कडा प्रतिबन्धात्मक व्यवस्था लागु गरिएको छ । कोरोनाभाइरसको अझ बढ्ता सङ्क्रामक प्रकार विभिन्न युरोपेली देशसहित क्यानडा अनि जापानमा समेत पुष्टि भएका बेला खोप लगाउन सुरु गरिएको हो ।
भाइरसको नयाँ प्रकार देखिएपछि गत साताबाट विश्वभर नयाँ यात्रा प्रतिबन्धहरू लागेका छन् । युरोपेली सङ्घ अन्तर्गतका राष्ट्रहरूमा खोप कार्यक्रम आइतवारबाट सुरु भएको हो । युरोपेली औषधि निकाय (इएमए) र युरोपेली आयोगले जर्मन-अमेरिकी फाइजररबायोएनटेक खोपलाई स्वीकृति दिएसँगै खोप दिने कार्य सुरु गरिएको हो । इयूले खोपका विभिन्न कम्पनीहरूबाट दुई अर्व भन्दा धेरै मात्रा प्राप्तिका लागि सम्झौता सुनिश्चित गरिसकेको छ ।
उत्तरपूर्वी जर्मनीका अधिकारीहरूले भने आफूहरू थप एक दिन पनि नपर्खने भन्दै शनिवारबाटै ज्येष्ठ नागरिकहरूलाई खोप दिन सुरु गरेका थिए । त्यस्तै हङ्गेरीमा एकजना चिकित्सकलाई पहिलो खोप दिइएको सरकारी समाचार संस्थाले जनाएको छ भने स्लोभाकियामा पनि खोप दिन सुरु गरिसकिएको छ ।

प्रतिक्रिया