माछा मार्ने अधिकार तथा भावी व्यापार नीतिलाई लिएर महिनौँयता जारी मतभेद अन्त्य गर्दै युरोपेली सङ्घ र वेलायतले ब्रेक्जिट पछिको एउटा व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् ।
डाउनिङ्ग स्ट्रीटमा आयोजित पत्रकार सम्मेलनमा ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले भने, ‘हामीले हाम्रा कानुन तथा भविष्यमाथि पुनः नियन्त्रण कायम गरेका छौँ।’ जोनसनले समग्र युरोपका लागि एउटा राम्रो सम्झौता भएको उल्लेख गरेका छन् ।
युरोपेली सङ्घबाट औपचारिक रूपमा बाहिरिएको एक वर्षपछि वेलायत आगामी बिहीवार ईयूका व्यापार नीतिबाट अलग हुनेछ । यसको अर्थ व्यापार मामिलामा ठूलो परिवर्तन हो।
वेलायत र ईयू अब दुई छुट्टाछुट्टै बजार हुनेछन् र एकअर्कामा स्वतन्त्र आवागमनको अन्त्य हुनेछ । तर कोरोनाभाइरस महामारीको असर, सीमामा अवरोध तथा आयातमा कर लगायत झेलिरहेका थुप्रै ब्रिटिश व्यापारका लागि व्यापार सम्झौता एउटा महत्वपूर्ण राहत हुनेछ । पत्रकार सम्मेलनमा प्रधानमन्त्री जोनसनले वार्षिक ६६८ अर्ब पाउन्ड बराबरको सबैभन्दा ठूलो सम्झौता गरेको बताए ।
ब्रसल्समा आयोजित एउटा पत्रकार सम्मेलनमा युरोपेली आयोगकी प्रमुख उर्जुला फोनडेर लायनले यो एउटा लामो र गाह्रो बाटो भएको तर त्यसका लागि आफूहरुले एउटा राम्रो सहमति गरेको बताइन् ।
आयरल्यान्डका प्रधानमन्त्री माइकल मार्टिनले एउटा राम्रो सम्झौता भन्दै त्यसले नर्दर्न आयरल्यान्ड सँगको सीमानाकामा कडा व्यवस्थालाई रोक्ने बताएका छन् । जर्मन चान्सलर एंगेला मर्केलले जर्मनीले समर्थन गर्न सक्ने खालको सहमति हुनेमा आफू विश्वस्त रहेको बताएकी छन् ।

प्रतिक्रिया