सामाजिक सञ्जाल ट्विटरमार्फत् सम्पर्क गरी नौ जनाको हत्या गरेर उनीहरूको टाउको राख्ने व्यक्तिलाई जापानमा मृत्युदण्डको सजाय सुनाइएको छ । सो चर्चित हत्याकाण्डले पूरै जापान स्तब्ध भएको थियो । ‘ट्विटर किलर’ को उपनाम दिइएका ताकाहिरो शिराइशीलाई शरीरका विभिन्न अङ्गसहित उनको निवासस्थानमा सन् २०१७ मा पक्राउ गरिएको थियो ।
तीस वर्षीय ती व्यक्तिले आफूले ज्यान लिएका नौ जनालाई ट्विटरमार्फत् भेटेको र हत्या गरेपछि शरीरलाई टुक्राटुक्रा पारेको स्वीकार गरेका थिए । मारिनेमा लगभग सबै कम उमेरका महिला थिए । ती शृङ्खलाबद्ध हत्याका कारण अनलाइनमा आत्महत्याका बारेमा कस्तो छलफल गरिन्छ भन्ने बहस जापानमा सुरु भएको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार अदालतमा सर्वसाधारणका लागि १६ वटा मात्रै सीट छुट्याइएको भए पनि उक्त मुद्दाको फैसला सुन्न ४०० भन्दा बढी मानिस भेला भएका थिए ।
विकसित देशमध्ये जापानले मृत्युदण्डलाई अझै निरन्तरता दिएको छ । शिराइशीले ट्विटरको प्रयोग गरी आत्महत्याप्रति आकर्षित महिलाहरूलाई आफ्नो घरमा बोलाएका थिए र कतिपय अवस्थामा उनले उनीहरूसँग आफू पनि मर्ने दाबी गरेका थिए । धारिलो हतियारले शरीर काटेर उनले आठ महिला र एक पुरुषको ज्यान लिएका थिए।
सन् २०१७ को अगस्ट र अक्टोबरका बीचमा मारिएका ती व्यक्तिहरू १५ देखि २६ वर्षका रहेको बताइन्छ । शृङ्खलाबद्ध हत्याका जानकारीबारेको पहिलो विवरण उक्त वर्षको ह्यालवीन पर्वका बेला आएको थियो। प्रहरीले शिराइशी बस्ने टोक्यो नजिकैको फ्ल्याटबाट छिन्नभिन्न अङ्गहरू फेला पारेको थियो ।
अनुसन्धानकर्ताका अनुसार त्यहाँ नौवटा टाउका, ठूलो सङ्ख्यामा पाखुरा र खुट्टाका हड्डीहरू तथा कुलर र बाकसहरूमा फेला परेका थिए । उनले त्यस बेला आफूले छाला निकालेर फ्यालिदिएको र बाँकी शरीरका अङ्गहरूलाई बिरालोले फोहोर गर्ने ठाउँमा लुकाएर राखेको बताएका थिए । अभियोजकहरूले शिराइशीले टुक्राटुक्रा पारेर मानिसहरूको ज्यान लिएको स्वीकार गरेकाले उनलाई मृत्युदण्डको सजाय हुनुपर्ने माग गरेका थिए । तर शिराइशीका वकिलहरूले उनले पीडितहरूकै सहमतिमा हत्या गरेकाले कम सजाय दिइनुपर्ने बताएका थिए ।
मृतकमध्ये तीन जना माध्यमिक विद्यालयका छात्र थिए। सबै भन्दा कम उमेरकी पीडित १५ वर्षीया किशोरी थिइन् । चार महिलाहरू २० वर्ष उमेर समूहका थिए भने मृतक पुरुषको उमेर २० वर्ष थियो । ती पुरुषले आफ्नी प्रेमिका कहाँ छिन् भनेर शिराइशीलाई प्रश्न गरेपछि उनको हत्या गरिएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् । मङ्गलवार निर्णय सुनाएका न्यायाधीशले कुनै पनि पीडितले आफूलाई मार्न सहमति नजनाएको बताएका थिए । ती न्यायाधीशले प्रतिवादी पूर्ण रूपमा दोषी रहेको बताएको द स्ट्रेट टाइम्स समाचारपत्रले जनाएको छ।

प्रतिक्रिया