मकेन्जी स्कटले चार महिनाको अवधिमा विभिन्न परोपकारी संस्थाहरूलाई चार अर्ब अमेरिकी डलरभन्दा बढी रकम दान गरेकी छन् । उनी एमेजनका संस्थापक जेफ बेजोसकी पूर्वपत्नी हुन् ।
उनीबाट आर्थिक सहयोग पाउने संस्थाहरूमा असहाय भोकाहरूलाई खानेकुरा उपलब्ध गराउने र आपत्कालीन उद्धार कोष सञ्चालकहरू छन् । एउटा ब्लगमा आफ्नो धारणा लेख्दै मकेन्जी स्कटले कोरोनाभाइरस महामारीको समस्याबाट मारमा परेका अमेरिकीहरूलाई आफूले सहयोग गर्ने प्रयास गरेको बताएकी छन् ।
मकेन्जी स्कट संसारकै १८ औँ सर्वाधिक धनी व्यक्ति हुन् र यो वर्ष उनको कुल सम्पत्ति २३.६ अर्ब डलरले बढेर ६०.७ अर्ब डलर पुगेको छ । उनको सम्पत्तिको धेरैजसो भाग पूर्वपति जेफ बेजोसबाट भएको हो। उनी मुख्यतः अनलाइन कारोबारमा संलग्न एमेजनका प्रमुख कार्यकारीका साथै संसारका सबैभन्दा धनी व्यक्ति पनि हुन् ।
मकेन्जी स्कटले आफूलाई सहयोगका लागि ६,५०० वटा आवेदन प्राप्त भएकोमा तीमध्ये ३८० वटा परोपकारी संस्थालाई छानेर आफूले रकम दान गरेको बताएकी छन् । गत जुलाई महिनामा उनले ११६ वटा संस्थालाई १.७ अर्ब डलर दान दिएकी थिइन्।
यो समेत जोड्दा यो वर्ष मात्र उनले झन्डै ६ अर्ब डलर रकम दानमा दिइसकेकी छन् । उनले दिएको आर्थिक सहयोग खासगरी “खाद्य सुरक्षाको उच्च सङ्कटमा परेका, जातीय असमानताको अवस्था चर्को भएका, स्थानीय गरिबीदर चर्को भएका र परोपकारी संस्थाहरूबाट प्राप्त हुने रकममा कमजोर पहुँच भएका समुदायहरूमा“ केन्द्रित रहेको छगत वर्ष उनले आफ्नो सम्पत्ति दान गर्छु भनेर कबोल गरिने ’गिभिङ प्लेज’ नामको एउटा सार्वजनिक प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेकी थिइन्।

प्रतिक्रिया