अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनले आफूले पद सम्हालेको पहिलो एक सय दिनमा १० करोडलाई खोप दिइसक्ने लक्ष्य राखेको बताएका छन् । उनले आफ्नो कार्यकालका सुरुवाती महिनामा महामारी अन्त्य नहुने तर आफूले त्यसबिचमा कोभिड १९ को बाटो भने मोड्ने बताए । उनले आफ्ना रणनीतिबारे थप बताएका छैनन् ।
२० जनवरीमा कार्यकाल सुरु गर्दाका लागि उनको साथमा हुने आफ्नो स्वास्थ्य कार्यदललाई परिचय गराउँदै बाइडनले अमेरिकीलाई ’१०० दिनसम्म मास्क लगाउन’ आग्रह गरे । मङ्गलवार नै अमेरिकी नियामकले फाइजर÷बायोएनटेकको खोप ९५ प्रतिसतसम्म प्रभावकारी रहेको पुष्टि गरेको छ । त्यसले अब उक्त खोप आपत्कालिन प्रयोगका लागि स्वीकृति दिन सकिने बाटो खोलेको छ ।
खाद्य तथा औषधि निकाय एफडिएले सुरक्षाका कारण फाइजर÷बायोएनटेकको खोपलाई स्वीकृति दिन रोक्नुपर्ने कुनै कारण नभेटिएको जनाएको हो । वेलायतमा गतसाता स्वीकृति दिएर धेरै जनामा लगाउन सुरु गरिसकिएको यो खोपबारे अमेरिकाले पहिलोपटक यो तहमा बोलेको हो । औपचारिक निर्णयका लागि एफडिएले बिहीबार एउटा बैठक गर्दैछ ।
एफडिएको एउटा प्रकाशनमा सो खोपका परीक्षणका विवरण ’भरपर्दो’ रहेको उल्लेख गरिएको छ । अमेरिका र वेलायत दुवै देशलाई उत्पादकहरूले खोपको सुरक्षा र प्रभावकारिताबारेको विशिष्ठ तहका जानकारी उपलब्ध गराइएका थिए ।
गतसाता अमेरिकाका शीर्ष सङ्क्रामक रोगविज्ञ डा एन्थोनी फाउचीले वेलायतको खोप स्वीकृति दिने प्रक्रियाको आलोचना गरेको देखिएको आफ्नो भनाइका लागि माफी मागेका थिए ।
एफडिएले प्रकाशित गरेको विस्तृत सामग्रीमा उसले उत्पादक कम्पनी फाइजरले भने जत्तिकै ९५ प्रतिसत प्रभावकारी रहेको जनाएको हो । तर पूर्ण सुरक्षाका लागि दुईवटै डोज आवश्यक पर्ने एफडिएले जनाएको छ ।
पहिलो डोजले निकै गम्भीर घटनामा ८९ प्रतिसत सुरक्षा दिने उसले जनाएको छ । र खोपले कोभिड सङ्क्रमित भइसकेकालाई जत्तिकै यस खोपले सुरक्षा दिने बताइएको छ । उसले यो खोप लिनेले धेरै व्यहोर्ने समस्या भनेको दुःखाई, खोप लगाइने भाग पाखुरामा रातो डाम र सुन्निने समस्याहरू देखिन सक्ने जनाएको छ।
त्यसपछि छोटो समयका लागि थकान, टाउको दुख्ने र मासु दुख्ने समस्या समेत देखिन सक्छ । तर यी सामान्य प्रभाव बाहेक अध्ययन गरिएको बेला खोप लगाइएका र नियन्त्रित समूहका व्यक्तिहरूबिचमा स्वास्थ्य अवस्थामा कुनै उल्लेख्य फरक देखिएको थिएन । गर्भवती महिला र १६ वर्ष मुनिका बालबालिकाहरूमा यसको जाँच नगरिएकाले त्यो उमेर समूहमा त्यसले अझै स्वीकृति पाउने काम बाँकी छ ।
राष्ट्रपति ट्रम्पले अमेरिकामा निर्मित खोपमा अमेरिकी नागरिकहरूलाई पहिलो प्राथमिकता दिइने काम सुनिश्चित गर्नका लागि एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
अन्य देशमा खोप पठाउने सम्झौता गरिसकेका उत्पादकहरूका हकमा उक्त आदेशले कसरी काम गर्छ भन्ने अझै स्पष्ट छैन । उनले केही दिनमा नियामक खाद्य तथा औषधि निकायले खोपको प्रयोगका लागि स्वीकृति दिनेमा आफू आशावादी भएको बताए । उनले धेरैलाई एकसाथ खोप लगाउनका लागि अधिकारीहरू तम्तयार भएर बसेको बताए ।

प्रतिक्रिया