इरानको राजधानी तेहराननजिकै इरानका वरिष्ठतम वैज्ञानिक मोहसिन फख्रिजादेहको हत्या भएको छ । दमावन्द काउन्टीमा पर्ने अबशार्दस्थित अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । इरानका विदेशमन्त्री जवाद जारिफले कुनै राज्यद्वारा गरिएको आतङ्कवादी कर्म भन्दै हत्याको निन्दा गरेका छन् ।
इरानको गोप्य पारमाणविक कार्यक्रममा फख्रिजादेहको भूमिका रहेको पश्चिमा गुप्तचर निकायहरूको विश्वास रहिआएको छ । ‘यदि इरानले पारमाणविक अस्त्रहरूको विकास गर्न चाह्यो भने फख्रिजादेह इरानी बमका पिता ठहरिनेछन्,’ सन् २०१४ मा एक पश्चिमा कूटनीतिज्ञले समाचार संस्था रोयटर्सलाई भनेका थिए ।
इरानले आफ्नो पारमाणविक कार्यक्रम नितान्त रूपमा शान्तिपूर्ण उद्देश्यका लागि रहेको बताउँदै आएको छ । इरानले प्रवद्र्धित युरेनियमको बढ्दो मात्रामा विकास गरिरहेको ताजा चासोबीच वरिष्ठतम वैज्ञानिकको हत्याको समाचार बाहिर आएको हो ।
गैरसैनिक ऊर्जा उत्पादन र सैनिक अस्त्र निर्माण दुवैका लागि प्रवद्र्धित युरेनियम महत्वपूर्ण मानिन्छ । सन् २०१५ मा छ वटा शक्ति राष्ट्रहरूसँग भएको सम्झौताले इरानको प्रवद्र्धित युरेनियम उत्पादनलाई सीमित तुल्याइदिएको थियो । तर सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो देशलाई सम्झौताबाट अलग गरेपछि इरानले पनि उक्त सहमतिलाई मान्न छोड्यो ।
लामो समयदेखि इजरेलले सम्झौताको विरोध गर्दै आए पनि राष्ट्रपति निर्वाचित जो बाइडनले जनवरीमा पद सम्हालेपछि इरान सँगको सम्झौतामा अमेरिका फर्कने प्रतिबद्धता जनाएका छन् । सन् २०१० देखि २०१२ को अवधिमा इरानका चारजना परमाणु वैज्ञानिकको हत्या भएको छ र हत्यामा इजरेलको संलग्नता रहेको तेहरानले आरोप लगाउने गरेको छ ।
सन् २०१८ को अप्रिलमा इरानको पारमाणविक कार्यक्रमबारे प्रस्तुति दिँदा खासगरी इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले फख्रिजादेहको नाम उल्लेख गरेका थिए । उनी इरानका ख्यातिप्राप्त परमाणु वैज्ञानिक हुनुका साथै इरानको इस्लामिक ’रिभोल्युशनरी गार्ड कप्र्स’का एक वरिष्ठ अधिकारी पनि थिए ।
पश्चिमा सुरक्षा स्रोतहरूले लामो समयदेखि उनलाई एकदमै शक्तिशाली र इरानको पारमाणविक कार्यक्रमका महत्वपूर्ण व्यक्ति भएको बताउँदै आएका थिए ।
सन् २०१८ मा इजरेलले हात पारेका गोप्य दस्तावेजहरूका अनुसार पारमाणविक अस्त्र निर्माणका लागि उनले इरानी कार्यक्रमको नेतृत्व गरे । त्यसबेला इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले फख्रिजादेहलाई इरानको पारमाणविक कार्यक्रमका प्रमुखको रूपमा चिनाएका थिए र “यो नाम सम्झिराख्नूस्“ भनेर मानिसहरूलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया