पुरातत्वविद्हरूले प्राचीन रोमन नगर पोम्पेईमा झन्डै दुई हजार वर्ष पहिले विस्फोटन भएको ज्वालामुखीका कारण ज्यान गुमाएका दुई मानिसको अवशेष फेला पारेका छन् । पोम्पेई पुरातात्विक पार्कका अधिकारीहरूका अनुसार तीमध्ये एकजना सम्भवतः धनाढ्य व्यक्ति र अर्का उनका सेवक हुन् ।
पार्कका निर्देशक मास्सिमो ओसान्नाले उनीहरू ज्वालामुखीबाट जोगिने उपाय खोज्दाखोज्दै प्रकोपमा परेको हुनसक्ने बताए । पोम्पेईमा सन् ७९ मा भेसुभिअस पर्वतबाट विस्फोटन भएको ज्वालामुखीका कारण प्रभावित भएको थियो ।
उक्त ज्वालामुखीका कारण पोम्पेई खरानीले पुरियो अनि पूरै नगर र नगरवासीलाई जमाइदियो । अहिले उक्त स्थान पुरातात्विक अध्ययनका लागि उपयुक्त देखिएको छ । पोम्पेई नगरको बाहिरी भागको एउटा ठूलो स्थानमा यो महिना गरिएको उत्खननका क्रममा पछिल्लो अन्वेषण भएको हो ।
अहिले अवशेष भेटिएकामध्ये धनाढ्य ठानिएका व्यक्तिको उमेर ३० देखि ४० वर्ष भएको अनुमान गरिएको छ। उनको गर्धन तल न्यानो खालको कपडाको निसान भेटिएको छ । अर्का व्यक्तिको उमेर १८ देखि २३ वर्षको रहेको बताइएको छ ।
पुरातात्विक अधिकारीहरूका अनुसार ती व्यक्तिको पिठिउँको करङले उनी सेवक भएको सङ्केत दिएको छ । ज्वालामुखीबाट निस्किएको भस्म शरीरमा जम्दा बनेको सङ्केतका आधारमा ती दुईको शरीरको आकृति बनाइएको थियो ।
निर्देशक ओसान्नाले यो ऊष्ण तापका कारण भएको मृत्यु भएको बताए । कक्रक्क परेका हात र खुट्टाले त्यो सङ्केत गरेको उनको भनाई थियो । उनले उक्त खोजलाई ज्वालामुखी विस्फोटन भएको बिहानको “असाधारण र अविश्वनीय प्रमाण“को रूपमा प्रस्तुत गरेका छन् । नेपल्सनजिकै अवस्थित उक्त पुरातात्विक क्षेत्रमा उत्खननको काम जारी छ । तर उक्त स्थान कोरोनाभाइरस महामारीका कारण पर्यटकहरूका लागि अझै बन्द छ ।

प्रतिक्रिया