‘लिलामीको सिद्धान्तमा सुधार र लिलामीको नयाँ विधिको विकास’ लाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार
यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दुई जना अर्थशास्त्रीलाई दिइने भएको छ । यस वर्षको अर्थशास्त्रतर्फको पुरस्कार अर्थशास्त्रीद्वय पल आर मिलग्रोम र रोबर्ट बी विल्सनलाई संयुक्त रुपमा दिने घोषणा नोबेल कमिटीले गरेको हो ।
उनीहरुलाई ‘लिलामीको सिद्धान्तमा सुधार र लिलामीको नयाँ विधिको विकास’ गरेको भन्दै यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको एकेडेमीले जनाएको छ । परम्परागत ढाँचामा लिलामीमा बस्तु तथा सेवाको बिक्री भइरहेको अवस्थामा मिलग्रोम र विल्सनको नयाँ सिद्धान्तले विश्वभरका बिक्रेता, क्रेता र करदातालाई सहज हुने एकेडेमीले बताएको छ ।
दुवै जना अमेरिकास्थित स्टानफोर्ड विश्वविद्यालयका प्राध्यापक हुन् । विजेताले स्वर्ण पदक र एक करोड स्विडिस क्रोनर पाउनेछन् । सामान्यतया लिलामीमा मानिसहरुले बढी मोल कबोल गर्नेलाई सामान बिक्री गर्छन् भने कम मोल तोक्नेबाट सामान किन्ने गर्छन् ।
रोबर्ट विल्सनले एउटा साझा मूल्यका आधारमा बस्तुको लिलामीका लागि नयाँ सिद्धान्तको विकास गरेको एकेडेमीले उल्लेख गरेको छ । जहाँ बस्तुको मूल्य पहिले अनिश्चित हुन्छ तर अन्त्यमा सबैका लागि समान हुन्छ । त्यस्तै पल मिलग्रोमले लिलामीबारे अझ सामान्य सिद्धान्तको विकास गरेको एकेडेमीले बताएको छ ।