तालिबानसँगको शान्ति वार्ताका लागि अफगान सरकारले अपनाएको धैर्यता प्रशंसनीय
अफगानिस्तानको सरकारी वार्ता टोलीका संयोजकले अफगानिस्तानको सरकारले तालिबानसँगको वार्ताको सफलताका लागि सक्दो प्रयास गरेको बताएका छन् । अफगानिस्तानको सरकारी वार्ता टोलीका संयोजक मोहम्मद मसुन स्टानेक्जीले अफगानिस्तानको सरकारले शान्ति वार्ताका लागि अपनाएको धैर्यता प्रशंसनीय भएको बताएका हुन् ।
उनले अफगानिस्तानमा विगत लामो समयदेखि जारी हिंसाको अन्त्य गरी दिगो शान्ति स्थापना गर्ने उद्देश्यले नै सरकारले वार्ताको प्रक्रिया थालेको बताए । अफगानिस्तानमा जारी हिंसाको अन्त्य गरी दिगो शान्ति स्थापना गर्न कतारको राजधानी दोहामा अफगान सरकार र तालिबानीका प्रतितिधिहरुबीच वार्ता शुरु भएको हो ।
अफगान वार्ता टोलीका संयोजक मसुनले अफगानिस्तानको सरकारको शान्ति स्थापना गर्ने प्रतिबद्धतालाई कसैले पनि असर पार्न नसक्ने बताए । उनले आफ्नो ट्वीटर अकाउन्टमा लेखेका छन्– अफगानिस्तानको सरकारले शान्ति वार्ताका माध्यमबाट अफगानिस्तानमा दिगो शान्ति स्थापना गर्न चाहन्छ र यो प्रतिबद्धताका साथ सरकार लागेको छ ।
अफगानिस्तानको सरकारी वार्ता टोली र तालिबानी समूहसँगको वार्ता टोली शान्ति वार्ताका लागि अहिले पनि कतारको दोहा रहेका छन् । अफगानिस्तानमा जारी करिब दुई दशक लामो द्वन्द्वको अन्त्य गर्ने उद्देश्यले अमेरिकी मध्यस्थतामा तालिबान समूहसँग अफगानिस्तान सरकारले वार्ता थालेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानको युद्ध अन्त्य गर्न र सेनालाई स्वदेश फिर्ता लिनको लागि तयार भएपछि यो वार्ताको वातावरण बनेको हो ।
अमेरिकाले पनि अफगानिस्तान सरकार र तालिवानबीचको वार्ता अमेरिकाको सबैभन्दा लामो युद्ध अन्त्य गर्ने एउटा पहल भएको बताएको छ । गएको फेब्रुअरी महिनामा संयुक्तराज्य अमेरिकासँग भएको सम्झौतापछि अमेरिकी सरकारले तालिबानहरुका मागहरु सम्बोधन गरेको थियो र त्यसपछि वार्ताका लागि दुवै पक्ष तयार भएका हुन् ।