२४ घन्टा यता ट्रम्पमा देखिएन कोरोनाभाइरसको लक्षण
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमा पछिल्लो २४ घन्टा भन्दा लामो समयदेखि कोभिड १९ को कुनै लक्षण नदेखिएको उनका चिकित्सकहरूले जनाएका छन् । त्यसअवधिमा ट्रम्प ज्वरोबाट पनि मुक्त रहेको उनीहरूको भनाइ छ । राष्ट्रपतिका चिकित्सक सीन कोन्लीका अनुसार ट्रम्पमा पहिचान गर्न सकिने तहमा भाइरसलाई परास्त गर्न सक्ने एन्टिबडी देखिएको छ ।
कोन्लीले अस्पताल लगिएयता ट्रम्पलाई अतिरिक्त अक्सिजन दिन नपरेको जानकारी दिए। शुक्रवार अस्पताल भर्ना गरिएका ट्रम्प सोमवार फर्किएका थिए । ह्वाइट हाउसले जनाए अनुसार ’ब्रिफिङ’ को निम्ति ट्रम्प ओभल कार्यालय फर्किएका छन् ।
उनका अनुसार सोमबारको प्रयोगशालाको परिणामले राष्ट्रपतिमा कोरोनाभाइरसलाई परास्त गर्ने एन्टिबडी पहिल्याउन सकिने स्तरमा फेला परेको देखाएको छ । गत बिहिवार एन्टिबडी पहिचान गर्न नसकिने तहमा झरेको थियो । शरीरले सङ्क्रमण विरुद्ध लड्न एन्टिबडी बनाउँछ र रगतमा कोरोनाभाइरस एन्टिबडी देखिनुले कुनै व्यक्तिमा भाइरस थियो भन्ने सङ्केत दिन्छ ।
तर त्यसको उपस्थितिले उक्त व्यक्तिमा भाइरसको सङ्क्रमण फेरि हुन्छ कि हुन्न भन्ने अझै अस्पष्ट छ । ओभल कार्यालय बाहिर छायाङ्कन गरिएको ट्रम्पको एउटा भिडिओ ह्वाइट हाउसले सार्वजनिक गरेको छ ।
जसमा ट्रम्पले आफूलाई भएको कोरोनाभाइरस सङ्क्रमणलाई सुरुमा कठिन तर भगवानको आशिर्वादका कारण राम्रो भएको रूपमा लिएको बताएका छन् । उनले सबै सङ्क्रमितको निम्ति निशुल्क औषधि उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएका छन् ।
अमेरिकी सञ्चार माध्यमहरूले उक्त भिडिओ एक दिन अघि सार्वजनिक गर्ने योजना रहेको तर उपराष्ट्रपतिका उम्मेद्वारहरूबीचको बहस हुनुभन्दा तीन घन्टाअघि सार्वजनिक गरिएको उल्लेख गरेका छन् ।
उपराष्ट्रपति माइक पेन्स र उक्त पदको निम्ति डेमोक्रेट उम्मेद्वार कमला ह्यारिसबीच सुरु भएको चुनावी बहसलाई ट्रम्प सङ्क्रमित भएपछिको ठूलो राजनीतिक महत्वको रूपमा हेरिएको छ । ह्यारिस र पेन्स एक अर्कामाथि आक्रमक रूपमा प्रस्तुत भएका छन् । ह्यारिसले ट्रम्प प्रशासनलाई ’देशको इतिहासकै सबैभन्दा विफल’ भनेकी छन्।