बाबरी मस्जिद घटनामा भाजपा नेताहरूले पाए सफाइ



भारतको एउटा अदालतले बाबरी मस्जिद ध्वस्त पारिएको मुद्दामा सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का ठूला नेताहरूसहित आरोपित सबैलाई सफाइ दिएको छ । सन् १९९२ मा हिन्दूहरूको भिडले उक्त मस्जिद भत्काएको घटनामा उनीहरूले कुनै गलत कार्य नगरेको भन्दै अदालतले सफाइ दिएको हो ।

भूतपूर्व उपप्रधानमन्त्री लालकृष्ण आडवाणी तथा भाजपा नेता मुरली मनोहर जोशी तथा उमा भारतीले अयोध्या सहरमा सोह्रौँ शताब्दीमा बनेको बाबरी मस्जिद भत्काउन हिन्दू अतिवादीहरूलाई उकासेको भन्ने आरोपलाई अस्वीकार गरेका थिए ।

उक्त घटनापछि साम्प्रदायिक हिंसा हुँदा झन्डै दुई हजार जनाको मृत्यु भएको थियो । यो भारतमा हिन्दू दक्षिणपन्थी राजनीतिको उदयका लागि पनि एउटा महत्वपूर्ण क्षण थियो । बुधवारको फैसलामा ४९ आरोपितमध्ये ३२ जनालाई सफाइ दिइएको छ । १७ जनाको मुद्दाको फैसला आउनुअघि नै निधन भइसकेको थियो ।

अदालतले बाबरी मस्जिद भत्काउने योजना बनाएको पुष्टि गर्ने पर्याप्त प्रमाण नभएको भन्दै यस्तो फैसला गरेको हो । हिन्दूहरूका अनुसार उक्त मस्जिद भगवान् रामको जन्मस्थलमा बनाइएको थियो । उक्त ऐतिहासिक मस्जिदको भूमि हिन्दू वा मुस्लिम कसले पाउने भन्ने जग्गासम्बन्धी दशकौँ लामो मुद्दाको फैसला भएको एक वर्षपश्चात् बुधवारको फैसला आएको हो । गत वर्ष सर्वोच्च अदालतले दशकौँको विवाद समाप्त गर्दै उक्त स्थान हिन्दूहरूको भएको फैसला गरेको थियो ।

सर्वोच्चले अयोध्यामै अर्को एउटा जग्गा मुस्लिमहरूले पाउने र त्यहाँ उनीहरूले मस्जिद बनाउन सक्ने फैसला गरेको थियो । गत अगस्ट महिनामा प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त स्थानमा भाजपाले चुनावी घोषणपत्रमा गरेको प्रतिबद्धताअनुसार राम मन्दिरको शिलान्यास गरिसकेका छन् ।

मुस्लिम र विपक्षी दलहरूले आरोपितहरूलाई सफाइ दिने अदालतको फैसलाको आलोचना गरेका छन् । भारतका मुस्लिमहरूको सामाजिक र राजनीतिक समूहहरूको प्रतिनिधित्व गर्ने एउटा प्रभावशाली संस्था अल इन्डिया मुस्लिम पर्सनल ल बोर्डले फैसलाविरुद्ध उच्च अदालतमा अपील गर्ने बताएको छ ।

विपक्षी नेताहरू र केही राजनीतिक विश्लेषकले यसमा सत्ताधारी दललाई दोष लगाएका छन् । विपक्षी कङ्ग्रेस पार्टीका प्रवक्ता रणदीपसिंह सुरजेवालाले यो फैसलालाई संविधानको भावनाविपरीत कानुनको गम्भीर उल्लङ्घनको सङ्ज्ञा दिएका छन् । कम्युनिस्ट पार्टी अफ इन्डियाका नेता सीताराम येचुरीले न्यायको पूर्णतः उपहास भनेका छन् ।

दक्षिणपन्थी हिन्दू समूहद्वारा आयोजित एउटा धार्मिक र्यालीका रूपमा सुरु भएको थियो। त्यसमा तात्कालिक प्रमुख प्रतिपक्षी दल भाजपा पनि सामेल थियो । उनीहरूले लामो समयदेखि बाबरी मस्जिद रहेको विवादित भूमिमा एउटा राम मन्दिर बनाउने वाचा गरेका थिए ।

ती समूहहरूले त्यस दिनको सभा प्रतीकात्मक हुने प्रतिबद्धता जनाएका थिए। उनीहरूले केही धार्मिक समारोह हुने तर मस्जिदलाई कुनै नोक्सान नपुर्याइने बताएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकाद्वारा युक्रेनलाई २.५ अर्ब डलरको सुरक्षा सहायता प्याकेजको घोषणा

वासिङ्टन । संयुक्त राज्य अमेरिकाले सोमबार युक्रेनका लागि दुई अर्ब ५० करोड अर्ब

विश्वमा शरणार्थीको सङ्ख्या १२ करोड २० लाख नाघ्यो

जर्मनी । संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त (युएनएचसिआर) का अनुसार सन् २०२४ मा विश्वभर शरणार्थीको

बेल्जियममा सन् २०२४ को बिदाइसँगै ई–सिगरेटमाथि प्रतिबन्धको घोषणा

ब्रसेल्स । स्याउ, तरबुजा र कोलालगायत स्वादका कारण युवा पुस्तामाझ निकै लोकप्रिय रहेको

अमेरिकाले जिमी कार्टरको सम्मानमा जनवरी ९ मा राष्ट्रिय शोक मनाउने

वासिङ्टन । अमेरिकाले जनवरी ९ लाई दिवंगत पूर्वराष्ट्रपति जिम्मी कार्टरको सम्मानमा राष्ट्रिय शोक