इजिप्टमा २५ सय वर्षअघि गाडिएका शवपेटिकाहरूको उत्खनन्
इजिप्टमा कम्तीमा २,५०० वर्षअघि गाडिएका २७ वटा शवपेटिकाहरू एउटा प्राचीन समाधिस्थलमा फेला परेका छन् । काठबाट निर्मित ती शवपेटिकाहरू राजधानी कायरोको दक्षिणतिर अवस्थित पवित्र स्थल साक्कारामा पुरातत्त्वविद्हरूले एउटा गहिरो खाल्डोबाट उत्खनन गरेर निकालेका हुन् ।
त्यहाँ तेह्रवटा पेटिका केही साताअघि फेला परेका थिए भने अहिले थप १४ वटा भेटिएको अधिकारीहरूले बताए । यो यस किसिमको सबैभन्दा ठूलो उपलब्धि भएको विज्ञहरूको भनाइ छ । सार्वजनिक गरिएका तस्बिरमा साना वस्तु र काठका रङ्गीन शवपेटिकाहरू देख्न सकिन्छ ।
साक्कारा ३ हजार वर्षभन्दा लामो समय समाधिस्थलका रुपमा रहेको थियो। अहिले त्यसलाई यूनेस्कोले विश्वसम्पदा सूचीमा राखेको छ । प्रारम्भिक अध्ययनहरूले ती शवपेटिका पूर्णतः बन्द रहेको र तिनलाई गाडिएपछि अहिलेसम्म नखोलिएको सङ्केत गरेका छन्,“ इजिप्टको पुरातात्विक मामिला हेर्ने मन्त्रालयले एउटा विज्ञप्तिमा भनेको छ ।
विज्ञप्तिका अनुसार पुरातत्वमन्त्री खालेद अल आनानी उक्त स्थानमा गएपछि मात्र यसबारे घोषणा गरिएको हो । उनले ११ मिटर गहिरो खाल्डोमा अप्ठ्यारो परिस्थितिमा उत्खनन् गर्ने कर्मचारीहरूलाई धन्यवाद दिएका थिए । उक्त स्थानमा थप उत्खनन भइरहेको छ । विज्ञहरूले शवपेटिकाबारे अरू विवरण सङ्कलन गर्ने प्रयास गरिरहेका छन् ।
मन्त्रालयले आगामी दिनमा थप रहस्यहरू सार्वजनिक गर्ने आफ्नो अपेक्षा भएको बताएको छ । गत नोभेम्बर महिनामा दुई वर्षअघि साक्कारामा भेटिएका विभिन्न पशुपक्षीका ममीहरू सार्वजनिक प्रदर्शनमा राखिएको थियो ।
तिनमा बिराला, गोही, सर्प र चराहरूका परिरक्षित शरीर थिए । साक्कारा कायरोबाट ३० किलोमिटर पर छ । प्राचीन इजिप्टको राजधानी मेम्फिसका बासिन्दाले उक्त स्थानलाई सयौँ वर्ष मृतकलाई समाधिस्थ गर्न प्रयोग गरेका थिए।