चिनियाँ सेनाको कब्जामा रहेका पाँच भारतीय नागरिक मुक्त
हिमाली क्षेत्रमा सीमारेखा नाघेर चीनतर्फ पुगेपछि कब्जामा लिएको भनिएका पाँच भारतीय नागरिकलाई छाडिएको भारतको रक्षा मन्त्रालयले जनाएको छ । चीनसँगको सीमावर्ती राज्य अरुणाचलका ती युवाहरू यसै महिनाको सुरुदेखि बेपत्ता थिए । भारतले ती मानिसहरू सिकारी भएको र उनीहरू झुक्किएर चिनियाँ भूमिमा प्रवेश गरेको जनाएको छ ।
तर उनीहरू मुक्त भएको विषय चीनले पुष्टि गरेको छैन । जुन महिनामा भारत र चीनबीच विवादित भूमिबारे द्वन्द्वको अवस्था सिर्जना भएको छ । शनिवार एउटा विज्ञप्ति जारी गर्दै भारतीय सेनाका एक प्रवक्ताले अरुणाचल प्रदेशका पाँच युवकहरू ’सिकार गर्दैगर्दा थाहै नपाईकन सीमापारि पुगेको’ जनाएका थिए ।
ती प्रवक्ताका अनुसार दुई देशबीचको लामो र सङ्केतरहित सीमा भएकाले त्यसो हुनु असामान्य घटना होइन । चीनको कुनै औपचारिक भनाइ नआए पनि त्यहाँको सरकारी मुखपत्र ग्लोबल टाइम्स पत्रिकाले एक गोप्य सुरक्षा स्रोतलाई उद्धृत गर्दै उक्त समूह ’सिकारीको भेषमा रहेका जासुसहरू’भएको दाबी गरेको थियो ।
उक्त स्रोतका अनुसार ती पुरुषहरूले नियोजित रूपमा सीमा पार गरेका कारण चिनियाँ सेनाले उनीहरूलाई ’नियन्त्रणमा लिएर सचेत र शिक्षित गराइएको’ उल्लेख छ । उक्त समूह चिनियाँ नियन्त्रणमा परेको समाचारसँगै गत साताको सुरुमा भारतीय सेनाले एउटा सैन्य हटलाइन सेवा सुरु गरेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआन त्यसबेला उक्त घटनाको कुनै विवरण दिएनन् । तर उनले ’कथित अरुणाचल प्रदेशलाई आफूहरूले कहिल्यै मान्यता नदिएको र त्यो दक्षिणी तिब्बतमा पर्ने’ बताए।