अमेरिकाको पोर्टल्याण्डमा हिंसक बनेको प्रदर्शनलाई लिएर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनका प्रतिस्पर्धी जो बाइडन चर्को आरोप-प्रत्यारोपमा उत्रिएका छन् । ट्रम्पले पोर्टल्याण्डका डेमोक्रेट मेयर टेड विलरलाई ’सहरमा मृत्यु र विध्वंशको बाटो खोलेको’ आरोप लगाएका छन् ।
बाइडनले भने राष्ट्रपति ट्रम्पले ’गैरजिम्मेवार तरिकाले हिंसा उकासेको’ र अमेरिकामा ’घृणा र विभाजनको आगो फुकेको’ आरोप लगाए । शनिवार अमेरिकामा ट्रम्प समर्थक र ब्ल्याक लाइभ्स म्याटर अभियानका सहभागीबीच झडप हुँदा एकजना श्वेत प्रदर्शनकारी मारिएका थिए । अफ्रिकी अमेरिकी जोर्ज फ्लोईडको प्रहरी नियन्त्रणमा मृत्यु भएपछि पोर्टल्याण्ड प्रहरी बर्बरता र रङ्गभेदविरोधी प्रदर्शनको केन्द्र बनेको छ ।
त्यहाँ तीन महिनादेखि प्रदर्शन चलिरहेको छ । मे २५ मा मिनिसोटा राज्यको मिनिअपोलिसमा प्रहरी नियन्त्रणमा फ्लोइड मारिएपछि त्यसरी विरोध निम्त्याएको हो । चरणबद्ध ट्वीटहरू गर्दै ट्रम्पले ’मूर्ख मेयरसँग पोर्टल्याण्डले कहिल्यै पुरानो स्वरूप नपाउने’ बताएका थिए । र उनले त्यहाँ सङ्घीय बलका जवानहरू पठाउनु पर्ने सोचिरहेको जनाएका छन् ।
उनले बाइडनलाई ’नेतृत्व गर्न र अपराधविरुद्ध बोल्न नचाएको’ आरोप लगाए । जबाफमा एउटा विज्ञप्तिमार्फत् बाइडनले ट्रम्पलाई कानुनीराजबारे आफूलाई बलियो देखाउन सकिन्छ भन्ने लाग्दो भएको बताएका छन् । एउटा पत्रकार सम्मेलनमा मेयर टेड विलरले समेत राष्ट्रपति ट्रम्पलाई ’आधुनिक इतिहासकै अमेरिकालाई सबैभन्दा बढी विभाजन गर्न खोज्ने व्यक्ति भएको’ आरोप लगाएका छन् ।

प्रतिक्रिया