कति बस्ने क्वारिन्टिनमा ?


आर्जेन्टिनामा कोभिड १९ नियन्त्रणका लागि सुरु भएको अन्तहीन क्वारिन्टिनलाई केही व्यक्तिहरूले “क्वारेन्टर्नल” को सङ्ज्ञा दिएका छन् । देशमा पाँच महिनादेखि निरन्तर जारी कडा लकडाउनबारे मानिसहरूले के सोच्छन् भन्ने कुराको यो एउटा मापन हो। त्यहाँ विश्वकै सबैभन्दा लामो लकडाउन भएको मानिएको छ । तर गत मार्च २० तारिखदेखि चालिएका कदमहरूले पारेका आर्थिक, सामाजिक र मनोवैज्ञानिक प्रभावलाई कसैले पनि हलुका रूपमा लिएको छैन । लकडाउनले मुख्यतः आर्जेन्टिनाको आर्थिक केन्द्र ब्वेनस आईरीज महानगर क्षेत्र (एएमबीए) मा असर पारेको छ । त्यहाँ देशको करिब ४० प्रतिशत जनसङ्ख्या छ र कोरोनाभाइरसको एकदमै नराम्रो असर परेको छ ।

अगस्ट २७ तारिखसम्मको तथ्याङ्कलाई हेर्दा ३ लाख ८० हजार जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । त्यो भनेको धेरै सङ्क्रमण भएका विश्वका १५ मुलुकको सूचीमा यो देश पनि पर्छ । कोरोनाभाइरसबाट झन्डै ८ हजार जनाको ज्यान गइसकेको छ जुन सङ्ख्या छिमेकी देशहरू ब्रजिल र चिले, कोलम्बिया तथा अन्य युरोपेली मुलुकमा भन्दा एकदमै कम हो । उदाहरणका लागि इटलीले तीन महिना लकडाउन गर्दा आर्जेन्टिनाको तुलनामा त्यस अवधिमा त्यहाँ कम सङ्क्रमित देखिए तर मृत्यु चाहिँ धेरै भयो ।

आर्जेन्टिनाले आफूलाई एशियाली मुलुक फिलिपिन्ससँग मात्र तुलना गर्ने गरेको छ । फिलिपिन्सले चार महिनासम्म लकडाउन गर्यो जहाँ दुई लाख जनामा सङ्क्रमण देखिएको छ भने ३२ सय जनाको ज्यान गएको छ । लकडाउनसम्बन्धी आर्जेन्टिनाका नियमहरू कडा छन् । एएमबीए क्षेत्रका बासिन्दाहरूलाई खानेकुरा र अन्य अत्यावश्यक सामान किन्न जान तथा नजिकका सेवा लिनलाई मात्र निस्किन पाउने अनुमति छ । फुर्सदको समय बिताउन बाहिर निस्किन वयस्कहरूलाई रोक छ । अत्यावश्यक सेवाका कर्मचारी अथवा विशेष अनुमति लिएकाबाहेक अरूले सार्वजनिक यातायात प्रयोग गर्न पाएका छैनन् ।

अनुमनिविना कसैले कार चलाएको पाइयो भने तिनीहरूको चालक अनुमतिपत्र निलम्बनमा पर्ने जोखिम हुन्छ । गत जुन महिनादेखि मात्रै दौडिन पाउने अनुमति दिइएको छ त्यो पनि निश्चित समयमा राजधानीका बासिन्दालाई मात्रै । अतिप्रभावित समूहमा बालबालिका पनि पर्छन्ः मार्च महिनादेखि सरकारले एएमबीए क्षेत्रमा बस्ने बालबालिकालाई उनीहरूका आमाबुवा किनमेल गर्न जाँदा मात्रै सँगै जान पाउने अनुमति छ ।

राजनीतिक विभाजन
आर्जेन्टिनाका अधिकारीहरूका अनुसार प्रतिबन्धात्मक कदमहरूले कोभिड १९ बाट हुन सक्ने हजारौँ मृत्युलाई पन्छाएका छन् । अहिले पुष्टि भएका सङ्क्रमणमध्ये झन्डै ९० प्रतिशत त एएमबीए क्षेत्रमै रहेको अधिकारीहरू बताउँछन् । आर्जेन्टिनामा मृत्युदर प्रत्येक एक लाखमा १३.६ प्रतिशत छ । यो दर ल्याटिन अमेरिकाका अन्य मुलुक र बाँकी विश्वभन्दा कम हो । त्यसबाहेक कतिपय क्षेत्रमा वर्तमान अवस्थामा स्रोतसाधन एकदम सीमित भए पनि यो देशले स्वास्थ्य प्रणालीलाई भताभुङ्ग हुनबाट जोगाएको छ ।

यद्यपि कतिपय मानिसहरूलाई के लाग्छ भने कडा लकडाउन गरिनुको उद्देश्य हासिल भइसकेकोले अब त्यसलाई हटाउनुपर्छ । कतिपय मानिसहरूले सरकारी आदेश मान्न छाडेको देखिन्छ र ठूला सहरका सडकहरूमा मानिसहरू देखिन थालेका छन् । पागिना १२ नामक पत्रिकामा अगस्ट ३ मा प्रकाशित एउटा मतसर्वेक्षणका अनुसार प्रत्येक १० मध्ये आठ जनाले भाइरस फैलिनबाट रोक्न लकडाउन सफल भएको बताएका थिए । करिब ७० प्रतिशत मानिसहरूले लकडाउनका नियमहरूलाई खुकुलो बनाउनुपर्ने पक्षमा मत व्यक्त गरेको पाइयो । अहिलेको लकडाउन अगस्ट ३० सम्मका लागि कायम छ। यद्यपि लकडाउनको पालना नगरिँदा सङ्क्रमणमा वृद्धि भएको छ।

आरोप-प्रत्यारोप
सरकार र उसका आलोचकहरूले सङ्क्रमितको सङ्ख्या बढ्न थाल्नुमा एकअर्कामाथि आरोप लगाउने गरेका छन् । लकडाउनको उल्लङ्घन गर्नेहरू त्यसका लागि जिम्मेवार भएको अधिकारीहरूको दाबी छ । अर्कोतर्फ लगातार महिनौँसम्म लकडाउनका नियम पालना गर्न असम्भव भएकोले सरकारी रणनीति विफल भएको आलोचकहरूको ठम्याइ छ ।

आर्थिक क्षति
हुन त लकडाउनका कारण देशको अर्थतन्त्रमा कति क्षति पुगेको छ भन्ने निर्क्योल गर्न कठिन छ। तर सत्य के हो भने आर्जेन्टिनाले सन् २००१/ २००२ को चरम आर्थिक सङ्कटयताकै सबैभन्दा ठूलो गिरावट झेलिरहेको छ । कोरोनाभाइरस महामारीअघि दोस्रो वर्ष आर्थिक मन्दीबाट यो देश गुज्रिरहेको थियो । अहिले लकडाउनका कारण अत्यावश्यक बाहेकका हजारौँ व्यवसाय बन्द भएका छन् । दशौँ हजार मानिसले जागिर गुमाएका छन् र लकडाउनपछि पुनः जागिर पाउने वा नपाउने कुराको टुङ्गो छैन । ख्यातिप्राप्त आर्जेन्टिनी न्यूरो वैज्ञानिक फाकुन्डो मानेसद्वारा स्थापित इनेको फाउन्डेशनका अनुसार महामारीअघिको तुलनामा पाँचगुनाले बढीमा डिप्रेसनको समस्या बढेको छ । आफ्ना बालबालिकालाई कहिलेदेखि फेरि विद्यालय पठाउन पाइन्छ भन्ने कुरा पनि धेरैलाई थाहा छैन । महिनौँयता अधिकांश उडान रद्द गरिएका छन् भने यातायात मन्त्रालयले पूर्वनिर्धारित सेप्टेम्बर १ तारिखबाट उडान सुरु नहुने जनाइसकेको छ । हाल व्यावसायिक उडानहरू नगर्ने विश्वका थोरै देशमध्ये आर्जेन्टिना पनि एक हो ।

बीबीसीबाट