चीनमा बुद्धको भीमकाय मूर्तिको पाउसम्म बाढी, एक लाख मानिसको उद्दार
सन् १९४० को दशकपछि आएको सबैभन्दा ठूलो बाढीले मध्यदक्षिण चीनस्थित बुद्धको एउटा भीमकाय मूर्तिको पैतलासम्म पुगेको छ । उक्त मूर्ति ७१ मिटर अग्लो छ । सिचुवान प्रान्तको चङ्दुनजिकै एउटा पहरामा आठौँ शताब्दीमा बनाइएको उक्त मूर्ति यूनेस्को सम्पदा सूचीमा समाविष्ट छ । नदीमा पानीको सतह प्रायः मूर्तिभन्दा धेरै तल हुन्छ ।
तर अहिले उक्त क्षेत्रमा ७० वर्षकै सबैभन्दा नराम्रो बाढी आएको छ । उक्त क्षेत्रबाट एक लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । बुद्धको मूर्ति पर्यटकीय आकर्षण बनेको छ। याङ्त्सी नदी र थ्री गोर्जेजमा उक्त क्षेत्र हुँदै डुङ्गायात्रा गराइन्छ । सरकारी सञ्चारमाध्यमले नदीमा पानीको सतह बढेपछि दर्जनौँ पर्यटकहरूलाई उद्धार गरिएको बताएका छन् ।
सन् १९४९ मा बुद्धको विशाल मूर्तिको खुट्टाका औँलासम्म पानी पुगेको थियो। प्रत्येक औँला एक जना मानिसजत्रा छन् । तर गत हप्ता मूर्तिको पीँधसम्म पानी पुग्यो र पानीको सतह बढिरह्यो । सिन्ह्वा समाचारसंस्थाका अनुसार बुद्धको पाउमा पानी पुग्दा चङ्दु डुबानमा पर्ने स्थानीय मान्यता छ । सिचुवान प्रान्तमा केही हप्तादेखि ठूलो वर्षा भइरहेको छ । तत्काल वर्षा रोकिने सम्भावना नभएको बताइन्छ ।
जोखिममा परेका क्षेत्रहरूबाट मानिसहरूलाई अन्यत्र सार्न थालिएको छ । विभिन्न नदीका तटमा बाढी र पहिरोको चेतावनी दिने प्रणाली सक्रिय बनाइएको छ । चुन्चिङमा यो वर्ष बाढीले धेरै चोटि दुःख दिइसकेको छ ।
याङ्त्सी नदीबाट जलविद्युत् निकाल्न बनाइएको थ्री गोर्जेज ड्यामबाट ठूलो परिमाणमा पानी आउन सक्ने चेतावनी अधिकारीहरूले दिएका छन् । त्यसबाट चुन्चिङसहित विभिन्न स्थान डुबानमा पर्न सक्ने बताइएको छ।